एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो ब्याटिङको निम्तो
एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो ब्याटिङको निम्तो
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै चितवन राइनोजलाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको छ।

आजको खेलका लागि जनकपुरले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। लगातार अपेक्षित प्रदर्शन गर्न नसकेका अनिल साहको स्थानमा सन्तोष कार्कीलाई प्लेइङ–११ मा समावेश गरिएको छ।

यता चितवनले पनि डान मोस्लीको ठाउँमा इंग्ल्यान्डका खेलाडी डाविड मलानलाई टोलीमा फर्काएको छ।

प्रतियोगिताको प्लेअफ समीकरणका दृष्टिले आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। जनकपुरलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। पराजित भए टोलीको यात्रा समाप्त हुनेछ। जित निकाले पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने अवस्था छ।

हाल ६ खेलबाट ४ अंक जोडेको जनकपुर अंकतालिकाको छैटौँ स्थानमा छ। समान ४ अंक रहेको कर्णाली याक्सले पनि प्रतियोगितामा चितवनसँग खेल्न बाँकी छ।

५ खेल खेलेको चितवनको खातामा ५ अंक छ। आजको खेलपछि कर्णालीसँग पनि प्रतिस्पर्धा गर्न बाँकी रहेकाले चितवनसँग अधिकतम ९ अंक जोड्ने अवसर छ।

आज जनकपुरसँग पराजित भएमा चितवनको प्लेअफ सम्भावना कमजोर बन्नेछ भने चितवन विजयी भए कर्णाली याक्सको प्लेअफ यात्रा एक खेल बाँकी छँदै समाप्त हुनेछ।

यस्तो अवस्थामा चितवन, काठमाडौं र विराटनगरमध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ।

प्रतियोगिताबाट पोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ भने लुम्बिनी र सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

साताकाे चर्चित
सम्बन्धित