पोखरा ।
तिहार नजिकिएसँगै हिमाली जिल्लाबाट भेडाच्याङ्ग्रा लिएर व्यापारीहरू पोखरा आउने क्रम बढेको छ। मुस्ताङ, डोल्पा र मुगुलगायत जिल्लाबाट ल्याइएका भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ स्थित सिमपानी क्षेत्रमा बिक्रीका लागि राखिएका छन्।
दसैँको तुलनामा तिहारमा भेडाच्याङ्ग्राको माग कम हुने भएकाले यसपटक व्यापारीहरूले तुलनात्मक रूपमा थोरै सङ्ख्यामा पशु ल्याएका छन्।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार तिहारका लागि मुस्ताङबाट ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ। मुस्ताङबाट बाहिरिएका कुल एक हजार २०० च्याङ्ग्रामध्ये ५०० वटा काठमाडौं पठाइएको र बाँकी ७०० पोखरा ल्याइएको उनले जानकारी दिए।
छिरिङका अनुसार राम्रो र रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँसम्म पर्छ। अन्य च्याङ्ग्राको मूल्य भने आकार र गुणस्तरअनुसार फरक छ। उनले साथी निरज थकालीसँग मिलेर ५५ वटा च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याएका छन्। दसैँमा भने उनीहरूले तीन सयभन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए।
उनका अनुसार यस वर्ष दसैँमा च्याङ्ग्राको माग निकै राम्रो थियो। फूलपातीपछि मागअनुसार आपूर्ति गर्नसमेत कठिन भएको उनले बताए। तिहारमा माग केही कम भए पनि विगतका वर्षको तुलनामा यसपटक पोखरामा बढी सङ्ख्यामा च्याङ्ग्रा भित्रिएको उनको भनाइ छ।
हाल सिमपानीका सातदेखि आठ स्थानमा भेडाच्याङ्ग्राको कारोबार भइरहेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि सुर्खेतको बाटो हुँदै चार दिनको यात्रा गरेर पोखरा आइपुगेका छन्। उनको समूहले मुख्य रूपमा भेडा र साँढ ल्याएको छ भने केही च्याङ्ग्रा पनि बिक्रीका लागि राखेको छ।
भाम विगत पाँच–छ वर्षदेखि चाडपर्वको समयमा पोखरामा भेडाच्याङ्ग्रा बिक्री गर्दै आएका छन्। गत वर्ष व्यापारमा घाटा बेहोर्नुपरे पनि यस वर्षको दसैँमा राम्रो कारोबार भएको उनले बताए। तिहारको व्यापारबाट हुने आम्दानी भने बिक्रीको अवस्थाले निर्धारण गर्ने उनको भनाइ छ।
डोल्पाका सन्तोष धराला पनि १५० वटा च्याङ्ग्रा लिएर पोखरा आएका छन्। उनी तीन वर्षदेखि दसैँ र तिहारमा च्याङ्ग्रा बिक्री गर्न पोखरा आउने गरेका छन्। पोखरामा घाँस तथा चरन क्षेत्रको उपलब्धता सहज भएकाले पशु व्यवस्थापनमा पनि सुविधा हुने उनले बताए।
व्यापारीहरूका अनुसार चाडपर्वका बेला भेडाच्याङ्ग्राको कारोबारबाट एक व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन्। तर, हिमाली क्षेत्रबाट लामो दूरी पार गरेर पशु ल्याउनुपर्दा ढुवानी, खाना र बासमा उल्लेख्य खर्च हुने गरेको छ। भेडाच्याङ्ग्रा व्यापार धेरै परिवारको पुस्तौँदेखिको पेसा भएकाले घाटा–नाफा जे भए पनि यसलाई निरन्तरता दिँदै आएको व्यापारीहरूको भनाइ छ।
दसैँ र तिहारको समयमा पोखराका साथै अन्य जिल्लाका व्यापारी पनि च्याङ्ग्रा खरिद गर्न मुस्ताङ पुग्ने गर्छन्। जोमसोम, कागबेनी र चमरलगायत क्षेत्रबाट खरिद गरिएका च्याङ्ग्रा म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा ल्याइन्छन्। कतिपय व्यापारीले ट्रकमार्फत पशु ढुवानी गर्छन् भने केहीले हिँडाएरै पोखरासम्म ल्याउने गरेका छन्। मुस्ताङबाट पोखरा हुँदै काठमाडौंसम्म पनि च्याङ्ग्रा पठाउने गरिएको छ।
हिमाली क्षेत्रको चिसो हावापानी र प्राकृतिक चरनमा हुर्किएका च्याङ्ग्राको मासु स्वादका कारण उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। वर्षभरि अन्य प्रकारका मासु उपलब्ध भए पनि च्याङ्ग्राको कारोबार भने विशेषगरी दसैँ र तिहारका समयमा बढी हुने गर्छ। त्यसैले हिमाली क्षेत्रका पशुपालक तथा व्यापारीका लागि यी दुई चाड आम्दानीको महत्वपूर्ण अवसरसमेत बन्ने गरेका छन्।