नरक चतुर्दशी पर्व मनाइँदै, बिहानै स्नान गरी यमदीप बगाउने परम्परा
नरक चतुर्दशी पर्व मनाइँदै, बिहानै स्नान गरी यमदीप बगाउने परम्परा
    • बेल संचार

    • २३ कार्तिक २०८३, आईतवार

काठमाडौँ ।

हिन्दू धर्मावलम्बीले आज बिहानै नदी, तलाउ, कुवा, पोखरी तथा धारामा स्नान गरी नरक चतुर्दशी पर्व मनाएका छन्। प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन सूर्योदय हुनुअघि स्नान गर्ने र यमदीप बालेर बगाउने धार्मिक परम्पराअनुसार यो पर्व मनाइएको हो।

धार्मिक विधिअनुसार स्नान गरेपछि सालको पातमा यमदीप राखेर दक्षिण दिशातर्फ फर्काई नदी वा जलाशयमा बगाउने चलन छ। यसलाई नरक स्नान तथा नरक बगाउने भनिन्छ। सामान्य बोलीचालीमा ‘नरके नुहाएर बगाउने’ नामले समेत यो पर्व परिचित रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए।

धार्मिक मान्यताअनुसार नरक चतुर्दशीका दिन विधिपूर्वक स्नान गरी दीपदान गरेमा नरकको कष्ट भोग्न नपर्ने विश्वास गरिन्छ। यही मान्यताका कारण यस दिनलाई नरक चतुर्दशी भनिएको हो।

आजै कुकुर तिहार पनि मनाइँदै छ। यमराजका दूतका रूपमा मानिने कुकुरलाई माला लगाइदिने, टीका लगाउने तथा मिठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ। यसैगरी, आज साँझ औँसी तिथि सुरु हुने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी र कुकुर तिहार तिहारको तेस्रो दिन परेको हो। अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान र यमदीपदान गर्नुपर्ने धार्मिक मान्यताअनुसार आज बिहानै यी विधि सम्पन्न गरिएको उनले बताए।

यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको हो। पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइएको थियो।

उज्यालो र उत्सवको पर्वका रूपमा चिनिने तिहार सुरु भएसँगै सहर तथा बजारमा दीपावलीको रौनक बढेको छ। घर, पसल र सार्वजनिक स्थानमा बत्ती तथा दीप प्रज्वलन गरेर सर्वसाधारणले पर्व मनाइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित