१० लाख हिताधिकारीलाई सैनिक कल्याणकारी कोषको सेवा, शिक्षा र स्वास्थ्यमा विशेष योगदान
१० लाख हिताधिकारीलाई सैनिक कल्याणकारी कोषको सेवा, शिक्षा र स्वास्थ्यमा विशेष योगदान
    • बेल संचार

    • २३ कार्तिक २०८३, आईतवार

काठमाडौँ ।

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका परिवारको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न सैनिक कल्याणकारी कोषमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विसं २०३२ सालदेखि सुरु भएको कोषले शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी र आर्थिक सहायताका क्षेत्रमा काम गर्दै आएको हो।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सैनिक कल्याणकारी कोषबाट हालसम्म करिब १० लाख हिताधिकारीले विभिन्न सेवा तथा सहुलियत प्राप्त गरेका छन्। कोषका कार्यक्रमले सैनिक परिवारको जीवनस्तर सुधार गर्नुका साथै सरकारका शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी प्रयासमा समेत सहयोग पुर्‍याएको छ।

कोषको सहयोगमा सैनिक विद्यालयहरूमा करिब ४० हजार विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत छन्। त्यसैगरी, हालसम्म एक लाख १० हजारभन्दा बढी सैनिकले सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गरिसकेका छन्।

सैनिक कल्याणकारी कोषले सैनिक परिवारका सन्ततिलाई मात्र नभई सर्वसाधारणलाई समेत गुणस्तरीय र सहुलियतपूर्ण शिक्षाको अवसर उपलब्ध गराउँदै आएको छ। चिकित्सा, प्राविधिक तथा कृषि क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउँदै राष्ट्रिय जनशक्ति विकासमा समेत कोषको भूमिका रहेको सेनाले जनाएको छ।

स्वास्थ्य सेवातर्फ पनि कोषले सहज र गुणस्तरीय उपचारको व्यवस्था गर्दै आएको छ। विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा परिचालनमार्फत राष्ट्रिय स्वास्थ्य प्रणालीलाई सहयोग पुर्‍याउने कामसमेत भइरहेको छ।

यसका अतिरिक्त सैनिक तथा उनीहरूका आश्रित परिवारको सामाजिक र आर्थिक सुरक्षा मजबुत बनाउन स्वास्थ्य तथा दुर्घटना बीमा, विपद्का बेला राहत, सहुलियतपूर्ण आवास, घडेरी खरिद र सवारीसाधन कर्जाजस्ता सुविधा उपलब्ध गराइँदै आएको छ।

शिक्षा, स्वास्थ्य र आर्थिक सहायतासँगै सीप विकास, रोजगारी तथा उद्यमशीलतालाई प्राथमिकता दिँदै सैनिक कल्याणकारी कोषले सैनिक परिवारलाई आत्मनिर्भर बनाउने र उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यसहित आफ्ना कार्यक्रम अघि बढाउँदै आएको छ।

साताकाे चर्चित
सम्बन्धित