काठमाडौं ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डस्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाइएसँगै सडक यातायात पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार गएराति करिब ११ बजे घोप्टेभीरमा पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन रोकिएका थिए।
रातिको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए। पहिरो हटाउने काम सम्पन्न भएपछि अहिले उक्त सडकखण्डमा सवारी आवागमन सामान्य बनेको प्रहरीले जनाएको छ।
यसअघि पनि सोही सडकखण्डमा पहिरो खसेको थियो। उक्त पहिरो हटाउन करिब नौ घण्टा लागेको थियो। लगातार पहिरो खस्न थालेपछि पृथ्वी राजमार्गको यस क्षेत्रमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।