कास्की ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की पुल निर्माण सम्पन्न भएसँगै यातायात आवागमन सहज बनेको छ।
पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुईवटा नयाँ पुल निर्माण गरिएपछि सवारीसाधनको आवतजावतमा देखिँदै आएको समस्या हटेको हो। यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधन एकैपटक पार हुन नसक्ने र जामको समस्या हुने गरेको थियो।
पोखरादेखि सिदिङसम्म नियमित जीप सञ्चालन गर्दै आएका चालक बुद्ध गुरुङले पुल निर्माणपछि यात्रा निकै सहज भएको बताएका छन्। उनका अनुसार पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिनुपर्ने र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था थियो। नयाँ पुल बनेपछि समयको बचत हुनुका साथै सवारी आवागमन पनि सहज भएको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माका अनुसार कास्की खण्डमा तीनवटा मोटरेबल पुल निर्माणका लागि २१ करोड ५९ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ।
निर्माण सम्पन्न भएका पुलमध्ये पोखरा महानगरपालिका–२५ को याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकास्थित पानीविहाडमा एउटा रहेका छन्। याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ निर्माण गरिएका नयाँ पुलको लम्बाइ ५२–५२ मिटर छ। पानीविहाडमा भने १२४ मिटर लामो पुल निर्माण गरिएको इन्जिनियर शर्माले जानकारी दिए।
तीनवटै पुल निर्माणको काम एउटै ठेक्कामार्फत अघि बढाइएको थियो। यसका लागि २०७९ साउन २२ गते स्याङ्जास्थित गीता कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य पूरा गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कास्की खण्डमा नयाँ पुल सञ्चालनमा आएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने यात्रुका साथै कास्कीका उत्तरी तथा पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।