काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै नेपाल संवत्लाई नेपालको मौलिक समयगणना र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण परम्पराका रूपमा व्याख्या गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक घटनासँग नेपाल संवत्को सुरुवात जोडिएको उल्लेख गर्दै उनले यसलाई चन्द्रमाको गतिमा आधारित मौलिक संवत्का रूपमा स्मरण गरेका छन्।
त्यस्तै, म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्री बालेनले आफ्नो शरीर र चेतनालाई सम्मान गर्दै आफैँले आफ्नै पूजा गर्ने परम्पराले आत्मशुद्धि र आत्मबोधको सन्देश दिने बताएका छन्।
उनका अनुसार म्हः पूजाले नेवार समुदायमा आपसी सद्भाव, आत्मविश्वास र पुर्ख्यौली संस्कृतिको निरन्तरतामा योगदान पुर्याउँदै आएको छ। यसले सामाजिक तथा जातीय एकतालाई समेत बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले गोवर्धन पूजा तथा हली तिहारको परम्परालाई पनि आफ्नो शुभकामना सन्देशमा समेटेका छन्। कृषि कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गोरुको सम्मानस्वरूप पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने चलन नेपाली संस्कृतिको अभिन्न पक्ष रहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, देउसी र भैलोले छरछिमेक तथा समुदायबीच आत्मीयता र मेलमिलाप बढाउने भन्दै मौलिक चाडपर्वले आपसी मनमुटाव बिर्सेर सामाजिक एकता र सहिष्णुता कायम गर्न प्रेरित गर्ने बताएका छन्।
शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्री बालेनले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन्।