काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा जाने भएका छन्।
मन्त्री तिमिल्सिना नोभेम्बर ७ देखि १३ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र अन्य एक सरकारी अधिकारीसमेत रहनेछन्।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विशिष्टीकृत निकाय आईटीयूले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्माण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रहको कक्ष व्यवस्थापन र डिजिटल प्रविधिमा सबैको पहुँच विस्तारका क्षेत्रमा काम गर्दै आएको छ।
हरेक चार वर्षमा आयोजना हुने प्लेनिपोटेन्सियरी सम्मेलन सङ्घको सर्वोच्च नीति निर्धारण गर्ने निकाय हो। सम्मेलनले संस्थाको आगामी रणनीति, नीतिगत प्राथमिकता, कार्यदिशा तथा नेतृत्व चयन गर्नेछ।
सम्मेलनका क्रममा आईटीयूको उच्च व्यवस्थापन, परिषद् सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि निर्वाचनसमेत हुनेछ। उक्त निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्ने कार्यक्रम रहेको छ। यसले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीति निर्माण तथा निर्णय प्रक्रियामा नेपालको सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको मन्त्रालयले जनाएको छ। भेटमा दूरसञ्चार सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार, आधुनिक सञ्चार प्रविधिको प्रयोग तथा यस क्षेत्रमा आपसी सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।
अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिनिर्माणमा नेपालको भूमिका थप प्रभावकारी बनाउने, डिजिटल रूपान्तरणलाई गति दिने र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले भ्रमण हुन लागेको जनाइएको छ।