भीमफेदी दुर्घटना : मृतकका परिवार शव बुझ्न सहमत, पोस्टमार्टम प्रक्रिया अघि बढ्यो
भीमफेदी दुर्घटना : मृतकका परिवार शव बुझ्न सहमत, पोस्टमार्टम प्रक्रिया अघि बढ्यो
    • बेल संचार

    • २७ कार्तिक २०८३, शुक्रबार

हेटौँडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी भ्यान दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवार शव बुझ्न सहमत भएका छन्। जिल्ला प्रशासन कार्यालय, दुर्घटना अध्ययन तथा छानबिन समिति र पीडित परिवारका आफन्तबीच बिहीबार भएको छलफलपछि शव बुझ्ने सहमति जुटेको हो।

दुर्घटनामा मृत्यु भएकाका परिवारले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। यसका कारण दुर्घटनापछि शवको पोस्टमार्टमसमेत हुन सकेको थिएन।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं छानबिन समिति संयोजक शेषकान्त पौडेलका अनुसार छलफलमा पीडित परिवारका मागलाई अध्ययन समितिको प्रतिवेदनमा समेट्ने र कानुनअनुसार पाउने राहत तथा क्षतिपूर्ति शीघ्र उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ। थप राहतका लागि जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने विषयमा पनि छलफल भएको उनले बताए।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको उपचार सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।

दुर्घटनामा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेको गाडीमा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। घाइतेहरूको हेटौँडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकमध्ये सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र करिब १७ वर्षीय सुधेश यादव छन्। त्यस्तै, कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ।

अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन्। उनीहरूमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, करिब ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित