काठमाडौं ।
चीन भ्रमणको तयारीमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान सवा ११ बजेदेखि सुरु भएको छलफलमा चीन भ्रमणमा सहभागी हुने सांसदहरू उपस्थित छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसद आइतबार (कात्तिक २९ गते) चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको उक्त भ्रमण ११ दिनको हुनेछ।
चीन प्रस्थान गर्नुअघि सांसदहरूले प्रधानमन्त्री शाहसँग भेट गरी छलफल गरेका हुन्।
भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत सांसद सहभागी छन्।
त्यस्तै, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि भ्रमण टोलीमा रहेका छन्।
भ्रमणका क्रममा सांसदहरूले चीनका विभिन्न सहर तथा क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। टोलीले बेइजिङ, हाङचाउ र सिचुवानलगायत स्थानको भ्रमण गर्ने जनाइएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई चीनका विभिन्न क्षेत्रको राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी गतिविधिबारे जानकारी लिने अवसरका रूपमा हेरिएको छ।