एनपीएल उपाधिका लागि सुदूरपश्चिमले बनाउनुपर्ने भयो १५६ रन
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले बनाउनुपर्ने भयो १५६ रन
    • बेल संचार

    • ५ मंसिर २०८३, शनिबार

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलिप नाथले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ३९ रन बनाए । उनले ३१ बलको सामना गर्दा ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४ तथा डार्सी सर्टले २१ रनको योगदान दिए ।

लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । ओपनर आसिफ शेख १ रनमै आउट भए । स्कट कुगेलेइनको बलमा एलबीडब्लू धरापमा परेका आसिफले रिभ्यु लिए पनि डीआरएसबाट निर्णय सदर भएपछि उनी मैदानबाट बाहिरिए ।

त्यसपछि छैटौँ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले डार्सी सर्टलाई बोल्ड गर्दै लुम्बिनीलाई अर्को झट्का दिए । १८ बलमा ४ चौका प्रहार गरेका सर्टले २१ रन बनाए ।

३५ रनमा २ विकेट गुमाएको अवस्थामा कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले इनिङ्स सम्हाल्ने प्रयास गरे । उनीहरूबीच तेस्रो विकेटका लागि ३९ रनको साझेदारी भयो । डिकवेला १७ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाएर आउट भए ।

रोहितले दिलिप नाथसँग चौथो विकेटका लागि ३४ रन जोडे । तर, उनी १५औँ ओभरको अन्तिम बलमा रनआउट भए । ३१ बल खेलेका रोहितले ४ चौकासहित ३० रन बनाए । त्यसपछि क्रिजमा आएका सन्दीप जोराले ४ रन मात्रै जोड्न सके ।

अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गरेका अली शेख र दिलिप नाथले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरे । अलीले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए । दिलिपले भने अन्तिमसम्म क्रिजमा टिक्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए भने थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १ विकेट हात पारे ।

साताकाे चर्चित
सम्बन्धित