काठमाडौं ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि आफ्नो नाममा गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो । सुदूरपश्चिमको जितका नायक बनेका जर्ज मुन्सेले आक्रामक शतकीय इनिङ्स खेले ।
मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले पनि उनलाई उत्कृष्ट साथ दिए । भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन जोडे ।
मुन्से र भण्डारीबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएपछि सुदूरपश्चिमले सहजै उपाधि आफ्नो पक्षमा पार्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन तथा निरोशन डिकवेलाले २८ रनको योगदान दिए ।
त्यस्तै अली शेखले १२ बलमा २४ रन र डार्सी शर्टले १८ बलमा २१ रन बनाए । आसिफ शेख १ रनमा र सन्दीप जोरा ४ रनमा आउट भएका थिए ।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे ।
फाइनलमा ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाएको सुदूरपश्चिमले लुम्बिनीलाई एकपक्षीय रूपमा पराजित गर्दै एनपीएलको तेस्रो संस्करणको उपाधि उचालेको हो ।