पोखरा ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र पार्टीका नेतामाथि आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिहरूलाई समेत निर्वाचनमा उम्मेदवार बनाइएको आरोप लगाएका छन् ।
शनिबार कांग्रेसको देउवा पक्षले आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै आफूलाई मार्नुपर्ने र आफ्नो निवासमा आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिहरूले समेत टिकट पाएको दाबी गरे ।
‘शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइयो । मलाई मार्नुपर्छ भन्ने चार जनालाई निर्वाचनमा टिकट दिइयो,’ देउवाले भने ।
उनले देशभर पार्टीका नेताहरूको घरमा आगजनी गर्ने तथा आफूहरूमाथि आक्रमणको प्रयास गर्ने घटनाका पछाडि को संलग्न छ भन्ने विषय स्पष्ट हुँदै गएको पनि बताए ।
विशेष महाधिवेशनको विषयमा धारणा राख्दै देउवाले पार्टी विधानअनुसार विशेष अधिवेशन गर्न सकिने बताए । विगतमा सुवर्णशमशेर राणाको नेतृत्वमा पनि विशेष अधिवेशन भएको स्मरण गराउँदै उनले अहिलेको विशेष महाधिवेशन भने पार्टी कब्जा गर्ने उद्देश्यले षड्यन्त्रपूर्वक अघि बढाइएको आरोप लगाए ।
आफूमाथि भएको आक्रमणपछि उपचारका लागि सिंगापुर र हङकङ गएको उल्लेख गर्दै देउवाले अहिले आफ्नो स्वास्थ्य अवस्था पूर्ण रूपमा ठीक रहेको बताए । नेपाली जनताको सद्भाव र शुभेच्छाका कारण आफूले जीवन पाएको उनको भनाइ थियो ।
आफूलाई अब व्यक्तिगत रूपमा केही प्राप्त गर्नुपर्ने आवश्यकता नरहेको बताउँदै देउवाले बाँकी जीवन राष्ट्र, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लामो राजनीतिक संघर्षका क्रममा जेल जीवन बिताएको र प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उनले नेपाली कांग्रेस र मुलुकका लागि आफ्नो योगदान जारी रहने बताए ।