काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ।
निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै मधेश र कोशी प्रदेशका ती जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।
आयोगका अनुसार जसपा नेपालले आफ्ना तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको जानकारी गराएको थियो। पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित प्राप्त विवरणका आधारमा आयोगले २०८३ मंसिर २ गते उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त गरिएको आयोगको सूचनामा उल्लेख छ।
पद गुमाउने जनप्रतिनिधिमध्ये मधेश प्रदेशका पाँच र कोशी प्रदेशका १३ जना रहेका छन्।
मधेश प्रदेशका पाँच जनप्रतिनिधि
मधेश प्रदेशअन्तर्गत सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतोको पद रिक्त भएको छ।
त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको आयोगले जनाएको छ।
कोशी प्रदेशका १३ जनप्रतिनिधि
कोशी प्रदेशमा खोटाङका आठ, इलामका दुई तथा भोजपुर, उदयपुर र सुनसरीका एक–एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ।
खोटाङबाट जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईको पद रिक्त भएको छ।
सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत गुमेको छ।
यस्तै भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईको पद रिक्त भएको छ।
इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष डालबहादुर गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।









