काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रुपैयाँ मूल्य बराबरको लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन्। गत कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका उनलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा तिघरी यसअघि दुई पटक लाओसबाट नेपाल आएको खुलेको छ। पहिलो पटक हवाईमार्ग र दोस्रो पटक भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेको प्रहरीको भनाइ छ।
उनले लाओससहित जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमण गरेको विवरणसमेत प्रहरीले फेला पारेको छ। उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न सञ्जालका महत्वपूर्ण व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीका अनुसार उनीबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ। उनीसँगबाट बरामद गरिएको साढे पाँच किलो सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको बताइएको छ।
प्रहरी अधिकारीका अनुसार बरामद लागुऔषध भारत पुर्याउने उद्देश्यले ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।