२४ हजारभन्दा बढी पर्यटक पुगे रारा ताल घुम्न तर पूर्वाधार सुधारमा अझै चुनौती
२४ हजारभन्दा बढी पर्यटक पुगे रारा ताल घुम्न तर पूर्वाधार सुधारमा अझै चुनौती
    • तपेन्द्र ऐडी

    • ४ मंसिर २०८३, शुक्रबार

मुगु।

कर्णाली प्रदेशको मात्र नभई समग्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित रारा तालको सुन्दरता अवलोकन गर्न प्रत्येक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक मुगु पुग्ने गरेका छन्। तर प्रकृतिको अनुपम उपहार रारा तालसम्म पुग्ने सडकको दुरवस्था, निर्माण कार्यमा ढिलासुस्ती, खाल्डाखुल्डी, हिलो र धुलोका कारण पर्यटकले गन्तव्यमा पुग्नुअघि नै सास्ती खेप्नुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन।
राराको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहँदा पर्यटकलाई सहज यात्रा गराउने पूर्वाधार निर्माण भने अपेक्षाअनुसार अगाडि बढ्न नसकेको गुनासो नवलपरासीबाट रारा घुम्न आएका राजेन्द्र थापाले गएको छ।

पर्यटकलाई राराको सुन्दरता देखाउने तर त्यहाँसम्म पुग्ने सडक सहज बनाउन नसक्ने अवस्थाले पर्यटन विकासको वास्तविकता माथि नै प्रश्न उठाएको छ।
रारा पुग्ने मुख्य सडक मार्गमध्ये नाक्मा–गमगढी सडकको अवस्था पर्यटकका लागि लामो समयदेखि चुनौती बन्दै आएको छ बुटवल बाट रारा घुम्न आएका गोपाल घिमिरे गुनासो गरेका छन।

विशेषगरी झ्यारी खोलामा सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नहुँदा वर्षायाममा हिलो, खाल्डाखुल्डी र पहिरोले यातायात सञ्चालनमा समस्या सिर्जना गर्ने गरेको छ। कतिपय सवारीसाधन बाटोमै फस्ने र यात्रुलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गर्नुपर्ने अवस्थासमेत आएको छ।
रारा भ्रमणमा आउने पर्यटकले मौसमअनुसार फरक–फरक समस्या भोग्नुपरेको छ। वर्षायाममा सडक हिलाम्मे र चिप्लो हुने तथा हिउँदमा धुलाम्मे सडकका कारण यात्रा असहज हुने गरेको पर्यटक सन्दीप परियार को गुनासो छन।

जनकपुरबाट रारा भ्रमणमा आएका पर्टेयक वर्षात भुजेलले समेत सडक स्तरोन्नतिको अभावले यात्रामा कठिनाइ भएको बताएका छन।
रारा पुग्नकै लागि लामो समय खर्चिनुपर्ने, सवारीसाधन बिग्रिने जोखिम र सडकको अनिश्चितताले पर्यटकको भ्रमण अनुभवमा असर पार्ने गरेको छ।

समुद्री सतहबाट करिब २ हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचित छ। रारा राष्ट्रिय निकुञ्ज कार्यालयको आधिकारिक विवरणअनुसार तालको क्षेत्रफल १०.६५ वर्ग किलोमिटर रहेको छ। यसको लम्बाइ करिब ५.२ किलोमिटर, चौडाइ २.७ किलोमिटर र अधिकतम गहिराइ १६९.९३ मिटर रहेको छ।चारैतिर हरियाली वनजंगल र हिमाली पहाडले घेरिएको रारा तालको नीलो पानी, मौसमअनुसार बदलिने रङ र वरिपरिको प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
तालको दक्षिणतर्फ ४ हजार ८७ मिटर अग्लो सूचीमा सूचीकृत भएको हो। यसले राराको प्राकृतिक तथा अन्तर्राष्ट्रिय महत्वलाई थप स्थापित गरेको छ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक भएको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा रारा ताल घुम्न कुल २४ हजार ९३१ पर्यटक पुगेका छन्।
जसमध्ये २४ हजार ६०४ जना नेपाली पर्यटक, सार्क राष्ट्रबाट १२६ जना र अन्य विदेशी मुलुकबाट २०१ जना पर्यटक रारा पुगेका थिए।

एक वर्षमा झन्डै २५ हजार पर्यटक पुग्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको रारा तालबाट राज्यले राजस्वसमेत संकलन गरिरहेको छ। तर पर्यटकलाई सहज यात्रा गराउने आधारभूत पूर्वाधारमा सुधार नहुँदा राराको पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
रारा तालको प्रचारप्रसारमा करोडौँको सम्भावना देख्ने सरकार र सम्बन्धित निकायले त्यहाँ पुग्ने सडकको अवस्था सुधार्न किन प्रभावकारी पहल गर्न सकिरहेका छैनन्?
पर्यटकको सुरक्षा र सहज यात्राको जिम्मेवारी कसको हो?

साताकाे चर्चित
सम्बन्धित