काठमाडौँ ।
स्वास्थ्य बीमामा आबद्ध नागरिकले अब अस्पतालबाट सेवा लिन भौतिक परिचयपत्र अनिवार्य रूपमा साथमा बोक्नुपर्ने छैन । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड तथा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार देशभरका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थालाई पत्र पठाउँदै भौतिक कार्ड नभएको कारण देखाएर बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बीमितले आफ्नो स्वास्थ्य बीमा परिचयपत्रको सक्कल प्रति, डिजिटल कार्ड वा कार्डमा रहेका विवरण प्रस्ट देखिने फोटोकपी प्रस्तुत गरेर सेवा लिन सक्नेछन् ।
यद्यपि, सेवा उपलब्ध गराउनुअघि सम्बन्धित स्वास्थ्य संस्थाले बीमितको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गर्नुपर्नेछ । उक्त नम्बरका आधारमा व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेको पुष्टि भएपछि बीमाअन्तर्गतको उपचार सेवा दिन सकिने बोर्डले जनाएको छ ।
यसअघि अस्पतालमा स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र देखाउनुपर्ने अभ्यास थियो । नयाँ व्यवस्थाले परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले कार्ड साथमा नभएका सेवाग्राहीलाई उपचार लिन सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहले भौतिक कार्डकै अभावमा बीमितले उपचार सेवा लिन समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले डिजिटल कार्ड र फोटोकपीलाई समेत मान्यता दिने व्यवस्था गरिएको जानकारी दिएका छन् ।
यस निर्णयसँगै स्वास्थ्य बीमा सेवामा डिजिटल माध्यमको प्रयोग बढ्ने र सेवाग्राहीलाई अस्पतालमा हुने झन्झट कम हुने अपेक्षा गरिएको छ ।