दैलेखमा बाबुको बन्चरो प्रहारबाट दुई सन्तानको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
दैलेखमा बाबुको बन्चरो प्रहारबाट दुई सन्तानको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
    • बेल संचार

    • ५ मंसिर २०८३, शनिबार

सुर्खेत ।

दैलेखमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा उनकी श्रीमती र एक छोरा गम्भीर घाइते भएका छन् ।

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ः३५ बजे घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिश्मा गम्भीर घाइते भएका थिए ।

घाइते चारै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लु नगर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले बिहान ११ः१० बजे तपेन्द्र र करिश्मालाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गम्भीर घाइते मनीषा र ६ वर्षीय छोरा मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित