घोप्टेभिरको जोखिमपूर्ण पहिरो हटाउन अझै तीन दिन लाग्ने
घोप्टेभिरको जोखिमपूर्ण पहिरो हटाउन अझै तीन दिन लाग्ने
    • बेल संचार

    • ९ मंसिर २०८३, बुधबार

चितवन ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सडक माथिको जोखिमयुक्त पहाड कटान तथा ढुंगामाटो हटाउने काम पूरा हुन अझै तीन दिन लाग्ने भएको छ । कामका क्रममा सवारी आवागमन दैनिक पाँच घण्टा रोकिँदै आएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौगोलिक बनावट जटिल र काम गर्ने स्थान जोखिमपूर्ण भएकाले अपेक्षाअनुसार प्रगति हुन सकेको छैन । थप अवरोध नआए तीन दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

गत शनिबारदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकेर पहाडको जोखिमपूर्ण भाग हटाउने काम भइरहेको छ । माथिल्लो क्षेत्रमा स्काभेटर प्रयोग गरी ढिस्को काट्ने र तल्लो भागमा खसेको माटो तथा ढुंगा पन्छाएर सडक सफा गर्ने कार्य भइरहेको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडक सतहबाट करिब १०० मिटर उचाइमा रहेको पहाडमा मेसिन पुर्‍याएर कटान गर्नुपर्ने भएकाले काम चुनौतीपूर्ण बनेको छ । मंगलबार माथिबाट खसेको ढिस्कोले स्काभेटर पुरेपछि काममा थप कठिनाइ भएको थियो । पहिरो हटाएर पुनः उपकरण सञ्चालनमा ल्याइएको उनले बताए ।

कामलाई गति दिन पहाडको माथिल्लो भागमा थप एउटा स्काभेटर पठाउने तयारीसमेत गरिएको छ ।

यसैबीच, सडक बन्द हुने समयलाई उपयोग गर्दै चुम्लिङटार र कुरिनटारबीच पर्ने डाहाकी खोलामा पनि सडक विस्तारको काम भइरहेको छ । उक्त स्थानको करिब १०० मिटर सडकलाई दुई मिटर फराकिलो बनाउने योजना छ । त्यसका लागि दुईवटा स्काभेटर र एउटा लोडर परिचालन गरी सडकको भित्तो काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

घोप्टेभिरमा जोखिम हटाउने र डाहाकी खोलामा सडक विस्तार गर्ने काम एकैसाथ अघि बढाइएकाले यात्रुले तोकिएको समयतालिका ध्यान दिएर यात्रा गर्नुपर्ने देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित