बालश्रम रोक्न कानुन मात्रै पर्याप्त छैन, परिवारको अवस्था पनि हेरौँ : सांसदहरू
बालश्रम रोक्न कानुन मात्रै पर्याप्त छैन, परिवारको अवस्था पनि हेरौँ : सांसदहरू
    • बेल संचार

    • ९ मंसिर २०८३, बुधबार

काठमाडौँ ।

बालबालिकालाई श्रममा संलग्न गराउने विषयमा उनीहरूको उमेर, परिवारको आर्थिक अवस्था, शिक्षा र मानसिक तथा शारीरिक विकासमा पर्ने प्रभावलाई प्राथमिकताका साथ हेर्नुपर्ने सांसदहरूले बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले बालश्रम नियन्त्रणका लागि कानुनी प्रावधानसँगै सामाजिक र आर्थिक पक्षलाई पनि सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।

नेकपा एमालेका सांसद कृपाराम रानाले बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मनोवैज्ञानिक अवस्था र समग्र विकासमा पर्न सक्ने असरलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । संविधानले बालबालिकाका लागि सुनिश्चित गरेका मौलिक हक कुनै पनि अवस्थामा कुण्ठित हुन नहुने उनको भनाइ थियो ।

उनले नेपालको संविधानको धारा ३९ मा उल्लेखित बालबालिकाको हकसँग प्रस्तावित विधेयकका व्यवस्था मेल खानुपर्ने बताए । साथै, विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल बनाउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले अभिभावकको संरक्षण नपाएका तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिका श्रममा बढी संलग्न हुने गरेको बताए । यस्तो अवस्थामा कानुन बनाएर मात्र बालश्रम अन्त्य गर्न नसकिने उनको तर्क थियो ।

बालबालिका श्रममा पुग्नुका कारण, परिवारको आर्थिक अवस्था र उनीहरूको दुरुपयोग भइरहेको अवस्थाबारे विस्तृत अध्ययन आवश्यक रहेको उनले बताए । बालबालिकाको पालनपोषण र शिक्षाको जिम्मेवारी पूरा गर्न नसक्ने परिवारलाई समेत लक्षित गरेर समाधान खोज्नुपर्ने उनको धारणा थियो ।

रास्वपाकी सांसद प्रभा कार्कीले विपन्न परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रममार्फत बालश्रम न्यूनीकरण गर्न सकिने बताइन् । विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षाबाट विमुख हुन नदिने र विद्यालयमै टिकाइराख्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।

उनले बालबालिकाको उमेर पहिचानका लागि वैज्ञानिक आधार तय गर्नुपर्ने बताउँदै जन्मदर्ता नभएको कारण कुनै पनि बालबालिका अधिकारबाट वञ्चित हुन नहुनेमा जोड दिइन् ।

छलफलमा सहभागी अधिकांश सांसदहरूले बालश्रमको समस्या समाधान गर्न कानुनी नियन्त्रणसँगै गरिबी न्यूनीकरण, शिक्षा, पारिवारिक संरक्षण र बालअधिकारको प्रभावकारी कार्यान्वयनलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

साताकाे चर्चित
सम्बन्धित