काठमाडौँ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाएको छ । महाधिवेशन सञ्चालनका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी संयोजक डा. शशांक कोइरालालाई दिइएको छ ।
बुधबार चूनदेवीस्थित देउवा पक्षको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेता, पदाधिकारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको बैठकले महाधिवेशन व्यवस्थापनका लागि समिति बनाउने अधिकार कोइरालालाई सुम्पिएको हो ।
कांग्रेस नेता जितजंग बस्नेतका अनुसार महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापनलगायत करिब १५ देखि २० वटा समिति आवश्यक पर्ने भएकाले तिनको गठन र जिम्मेवारी तोक्ने अधिकार संयोजकलाई दिइएको हो ।
कोइरालाले बिहीबारसम्म समितिका संयोजकहरू तय गर्ने र त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्य चयन गरी महाधिवेशनको तयारी अघि बढाउने बस्नेतले जानकारी दिए ।
बैठकमा पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे पनि नेताहरूले धारणा राखेका थिए । नेता बस्नेतले आफ्नो समूह नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आफूहरूमाथि कारबाही गर्ने अधिकार कसैसँग नरहेको जिकिर गरे ।
त्यस्तै, कांग्रेस नेता कुन्दनराज काफ्लेले आफू रुख चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य भइसकेको उल्लेख गर्दै आफूलाई कांग्रेसको सदस्य नरहेको भन्दै कारबाही गर्ने अधिकार कसैसँग नभएको दाबी गरे ।
पार्टीभित्र समानान्तर रूपमा महाधिवेशनको गतिविधि अघि बढिरहेको अवस्थामा विवाद समाधानका लागि छलफल र सहमति आवश्यक रहेको उनको भनाइ थियो । पार्टी कार्यालय कब्जा गरेर विशेष महाधिवेशन अघि बढाएको पक्षले नै विवाद समाधानका लागि संवादको पहल गर्नुपर्ने उनले धारणा राखे ।
देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औँ नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ । पार्टीभित्रको विवाद र समानान्तर गतिविधिका बीच महाधिवेशनको तयारीलाई कसरी अघि बढाइन्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।