जुम्ला ।
कर्णाली राजमार्गअन्तर्गत नाग्मा–गमगढी सडकखण्डको प्याकुरेखोलामा पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन। जग्गा विवादका कारण पुलको पहुँचमार्ग (एप्रोच रोड) निर्माण हुन नसक्दा यात्रु तथा सवारीसाधन अझै खोलाबाटै वारपार गर्न बाध्य छन्।
सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सिमानामा पर्ने प्याकुरेखोलामा पुल बनेर पनि प्रयोगविहीन अवस्थामा छ। पुलसम्म पुग्ने सडकका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा करोडौँको लगानीमा निर्माण भएको संरचना उपयोगविहीन बनेको हो।
नाग्मादेखि मुगुको गमगढीसम्मको सडकखण्डमा आर्थिक वर्ष २०७८/०७९ मा सडक डिभिजन कार्यालय जुम्लाले एउटै ठेक्कामार्फत १० वटा पुल निर्माणको जिम्मा हिम–सगरमाथा फर्मलाई दिएको थियो। तीमध्ये सातवटा पुल सञ्चालनमा आइसकेका छन् भने दुईवटा पुल जग्गा विवादका कारण निर्माण हुन नसकेको बताइएको छ।
प्याकुरेखोलाको पुल भने निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीले करिब एक वर्षअघि नै पुलको काम पूरा गरेको थियो। तर, पुल निर्माणस्थलमा आवश्यक जग्गा उपलब्ध नभएपछि पहुँचमार्ग निर्माण रोकिएको हो।
जग्गा विवादकै कारण निर्माण व्यवसायीले मध्यस्थता (आर्बिट्रेसन) को प्रक्रिया अघि बढाएको महताराले बताए। जग्गाधनीले आधिकारिक रूपमा जग्गा उपलब्ध गराएपछि सडक डिभिजन कार्यालयले अन्य स्रोतबाट भए पनि पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनको भनाइ छ।
यता जग्गाधनी लक्ष्मीप्रसाद प्याकुरेलले भने पुल निर्माण गर्दा सुरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको स्थानभन्दा माथिल्लो भागमा पुल निर्माण गरिएको दाबी गरेका छन्। त्यसक्रममा आफ्नो जग्गा बढी प्रभावित भएकाले जग्गा उपलब्ध नगराएको उनको भनाइ छ।
प्याकुरेलले आफ्नो परिवारका एक सदस्यलाई सडकसम्बन्धी काममा रोजगारीको व्यवस्था गरेपछि मात्रै पुल सञ्चालनका लागि आवश्यक जग्गा दिन तयार रहेको बताएका छन्।
उनले भने, “मेरो परिवारका एक जनालाई रोजगारीमा राख्नुपर्छ। त्यसो नभएसम्म पुलका लागि आवश्यक जग्गा उपलब्ध गराउँदिनँ।”
स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि दुवैतर्फको पहुँचमार्ग नबन्दा दैनिक आवतजावतमा समस्या भइरहेको छ। जग्गाधनीले जग्गा उपलब्ध गराउन नमानेपछि पुल सञ्चालनमा आउन नसकेको हो।
अहिले यात्रुबाहक जीप, मालवाहक ट्रक तथा मोटरसाइकलसमेत खोलाको बहाव हुँदै वारपार गरिरहेका छन्। पानीको सतह बढेको समयमा सवारीसाधन फस्ने, यात्रुले जोखिम मोलेर खोला पार गर्नुपर्ने र गाडीमा क्षति पुग्ने समस्या देखिएको छ।
सवारी चालक प्रकाश सारु मगरले पुल निर्माण भएर पनि प्रयोग गर्न नपाउँदा यात्रु र चालकले अनावश्यक सास्ती खेप्नुपरेको बताए।
“पुल आँखैअगाडि छ, तर हामी खोलाबाटै गाडी गुडाउन बाध्य छौँ। खोला बढेको बेला घण्टौँसम्म कुर्नुपर्ने अवस्था आउँछ,” उनले भने।
स्थानीयले जग्गा विवाद समाधान गरी पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दै आएका छन्। तर समस्या समाधान नहुँदा सार्वजनिक लगानीबाट बनेको संरचना प्रयोगविहीन बनेको उनीहरूको गुनासो छ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले प्याकुरेखोला कर्णाली राजमार्गमा पर्ने भएकाले सडक निर्माण तथा व्यवस्थापनमा गाउँपालिकाको प्रत्यक्ष भूमिका सीमित रहेको बताए। यद्यपि पुल सञ्चालनका लागि स्थानीय सरकारका तर्फबाट सहजीकरण र समन्वय गर्न तयार रहेको उनको भनाइ छ।
उनले जग्गाधनी, निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय जुम्लाबीच समन्वय गरेर विवाद समाधान गर्ने प्रयास भइरहेको र सहमतिमार्फत छिट्टै पुल सञ्चालनमा ल्याउने पहल गरिने बताए।
पुल निर्माण भएर पनि सवारीसाधन खोलाबाटै गुडाउनुपर्ने अवस्थाले स्थानीयवासी तथा यात्रुमा निराशा बढाएको छ। सार्वजनिक पूर्वाधार निर्माणमा जग्गा व्यवस्थापन र सम्बन्धित निकायबीचको समन्वय कमजोर हुँदा नागरिकले प्रत्यक्ष सास्ती भोग्नुपरेको छ।