पेरूमा उद्धार अभियानमै खस्यो सैनिक हेलिकोप्टर, आठ जनाको ज्यान गयो
पेरूमा उद्धार अभियानमै खस्यो सैनिक हेलिकोप्टर, आठ जनाको ज्यान गयो
    • बेल संचार

    • १२ मंसिर २०८३, शनिबार

काठमाडौं ।

दक्षिण अमेरिकी मुलुक पेरूमा सैनिक उद्धारका लागि परिचालन गरिएको हेलिकोप्टर दुर्घटनामा पर्दा आठ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टरका पाइलट भने सकुशल जीवित रहेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

पेरूको दुर्गम तथा लागुऔषध उत्पादन र ओसारपसारका गतिविधिका लागि चिनिएको अपुरिम्याक, एने र मन्तारो नदी आसपासको उपत्यका (भ्राएम) क्षेत्रमा बिहीबार राति हेलिकोप्टरसँगको सम्पर्क टुटेको थियो। पछि सनाबाम्बा सहरनजिकै हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बीबीसीले जनाएको छ।

सैनिक गस्ती टोलीलाई जोखिमपूर्ण क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउने जिम्मेवारीसहित हेलिकोप्टर परिचालन गरिएको थियो। दुर्घटना हुनुअघि नै त्यसले तीन सैनिकलाई उद्धार गरिसकेको विवरण सार्वजनिक भएको छ।

रक्षा मन्त्रालयका अनुसार खोजी तथा उद्धारमा संलग्न टोलीले दुर्घटनास्थलमा हेलिकोप्टरसहित नौ जना सैनिक फेला पारेको थियो। तीमध्ये आठ जनाको घटनास्थलमै मृत्यु भएको र पाइलट मात्र जीवित रहेको जनाइएको छ।

हेलिकोप्टर दुर्घटना हुनुको वास्तविक कारणबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन। त्यस्तै, उद्धार गरिएका तीन सैनिक कुन परिस्थितिमा समस्यामा परेका थिए भन्ने विषय पनि खुलाइएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित