काठमाडौँ ।
नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको विवादलाई अब पूर्णविराम दिएर आगामी स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै संग्रौलाले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र विवरण अद्यावधिक भइसकेकाले अब आन्तरिक विवादमा समय खर्चिनुपर्ने अवस्था नरहेको बताइन्। उनले पार्टी एकताको सन्देश देशभर पुर्याउँदै चुनावी तयारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार कांग्रेसले आफूलाई आधिकारिक पार्टीका रूपमा स्थापित गर्दै देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म संगठनात्मक सन्देश पुर्याउनुपर्छ। यसका लागि कानुनी विवादमा अल्झिनुभन्दा संगठन विस्तार र जनतासँगको सम्बन्धलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
संग्रौलाले ‘हामी तयार छौँ’ अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने धारणा राखिन्। उनले बुथ समितिहरूलाई सक्रिय बनाउने, क्रियाशील सदस्यताको नवीकरण तथा वितरणलाई पारदर्शी बनाउने र युवा पुस्ताको सहभागिता बढाउने काम तत्काल अघि बढाउनुपर्ने बताइन्। ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई पनि संगठनको प्रमुख कार्यदिशाका रूपमा अघि बढाउन उनले प्रस्ताव गरिन्।
महामन्त्री संग्रौलाले सरकारका गतिविधिप्रति पनि कडा असन्तुष्टि जनाइन्। सरकारका कतिपय निर्णय र क्रियाकलाप जनताको अधिकार तथा लोकतान्त्रिक अभ्यासमाथि प्रहार गर्ने खालका रहेको आरोप लगाउँदै कांग्रेसले जनताका वास्तविक समस्यालाई केन्द्रमा राखेर राजनीतिक रूपमा प्रतिवाद गर्नुपर्ने बताइन्।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्व बजारमा महँगी र आर्थिक अस्थिरता बढिरहेका बेला सरकारले नागरिकका दैनिक समस्या समाधानमा पर्याप्त ध्यान नदिएको उनको आरोप थियो। बरु सरकारका गतिविधिबाट नागरिकका मौलिक अधिकार र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना भइरहेको उनले बताइन्।
पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेप, प्रहरीको अनुसन्धान प्रक्रियामा अवरोध तथा प्रधानमन्त्रीका सल्लाहकारबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण र मोबाइल फोन नियन्त्रणमा राखिएको भनिएका घटनाप्रति पनि उनले आपत्ति जनाइन्। यस्ता गतिविधि विधिको शासन र लोकतान्त्रिक मान्यताविपरीत भएको उनको टिप्पणी थियो।
त्यस्तै, नेपालको चुच्चे नक्सा र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनसँग सम्बन्धित विषयमा सरकारको राष्ट्रिय अडान कमजोर भएको संग्रौलाले आरोप लगाइन्। सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएका विषयमा सरकारले स्पष्ट धारणा राख्नुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई संसद् र सार्वजनिक तहबाट जवाफदेही बनाउनुपर्ने बताइन्।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उनले उम्मेदवार छनोटमा विशेष साव