भोजपुर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक खेतीलाई प्रोत्साहन गर्न किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ ।
रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति जोगाउने र वातावरणमैत्री कृषि प्रणालीको विकास गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार कृषि विकास शाखामार्फत कार्यान्वयन हुने कार्यक्रममा प्राङ्गारिक मल खरिद गर्दा किसानले ७५ प्रतिशत अनुदान पाउनेछन् । प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई पनि जैविक खेतीतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको उनले बताए ।
कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गरिरहेका किसान, कृषि फार्म, समूह तथा सहकारी लाभान्वित हुने गाउँपालिकाको अपेक्षा छ ।
अनुदान कार्यक्रमअन्तर्गत किसानले गाउँपालिकामा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । मल खरिद गर्दा किसानले प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।
उनका अनुसार प्राङ्गारिक मल प्रयोग गरेर व्यावसायिक खेती गरिरहेका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ । इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले आफूलाई आवश्यक मलको प्रकार र परिमाण खुलाएर गाउँपालिकामा निवेदन दिनुपर्नेछ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि उत्पादनमा रासायनिक मलको निर्भरता कम गर्दै माटोको गुणस्तर र उर्वराशक्ति संरक्षण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन् ।
कृषिलाई उत्पादन र आम्दानीसँग जोड्न खेती गर्ने विधिमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले प्राङ्गारिक मलको प्रयोगले गुणस्तरीय उत्पादन र वातावरणमैत्री कृषि प्रणाली विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाले कृषि क्षेत्रको विकास र किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै दीर्घकालीन रूपमा कृषि क्षेत्रलाई दिगो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।