पञ्चेश्वरदेखि सप्तकोसीसम्मका आयोजना अघि बढाउन नेपाल–भारत सहमत
पञ्चेश्वरदेखि सप्तकोसीसम्मका आयोजना अघि बढाउन नेपाल–भारत सहमत
    • बेल संचार

    • ७ मंसिर २०८३, सोमबार

काठमाडौं ।

नेपाल र भारतले पञ्चेश्वर, सप्तकोसी र सुनकोसीलगायत जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाको निर्माण प्रक्रिया तीव्र बनाउने सहमति गरेका छन्। जलस्रोतको अधिकतम उपयोग, विद्युत् उत्पादन वृद्धि र बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले दुवै देशले यस्तो समझदारी गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दस्तावेजमा जलस्रोत तथा ऊर्जा क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको छ।

दस्तावेजमा ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा संस्थागत सहकार्य विस्तार गर्दै दुवै देशलाई लाभ पुग्ने विकासका कार्यक्रम अघि बढाउने उल्लेख छ।

विद्युत् क्षेत्र सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त दृष्टिकोणअनुसार भारतले नेपालको जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा लगानी बढाउन प्रोत्साहन गर्नेछ। नेपालले पनि भारतीय लगानीका लागि आवश्यक वातावरण तयार पार्दै पारस्परिक लाभ हुने गरी सहजीकरण गर्ने सहमति भएको छ।

त्यस्तै, दुवै देशको बजार माग र आर्थिक हितलाई ध्यानमा राखेर सीमापार विद्युत् व्यापार विस्तारका सम्भावना खोजिने भएको छ।

स्वच्छ ऊर्जाका नयाँ स्रोतमा पनि सहकार्य

नेपाल र भारतले जलविद्युत्का अतिरिक्त सौर्य तथा भू–तापीय ऊर्जाजस्ता वैकल्पिक ऊर्जा स्रोतको विकासमा समेत सहकार्य गर्ने भएका छन्। यसअन्तर्गत नेपालमा हरित हाइड्रोजनसम्बन्धी परीक्षण परियोजना सञ्चालन गर्ने योजना पनि समेटिएको छ।

बाढी तथा विपद् व्यवस्थापनमा संयुक्त प्रयास

जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न दुवै देशले पूर्वतयारीदेखि विपद्पछिको पुनःस्थापनासम्म सहकार्य गर्ने सहमति गरेका छन्।

यसका लागि जल तथा मौसमसम्बन्धी तथ्याङ्क, हिमतालको अवस्था र सम्भावित जोखिमबारे पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइनेछ। दुवै देशका सम्बन्धित निकायबीच वास्तविक समयमै सूचना आदानप्रदान गर्ने व्यवस्था संस्थागत गर्ने संयुक्त दस्तावेजमा उल्लेख छ।

विपद्का बेला उद्धार तथा मानवीय सहायता परिचालनलाई प्रभावकारी बनाउन संयुक्त अभ्यास, तालिम र जनशक्तिको क्षमता अभिवृद्धिमा पनि जोड दिइएको छ।

वातावरण संरक्षण र विज्ञता आदानप्रदान

वातावरण संरक्षण तथा जलवायु अनुकूलनका क्षेत्रमा भारतले नेपाली युवा पेसाकर्मी, सरकारी अधिकारी र विज्ञहरूको क्षमता विकास तथा तालिममा सहयोग गर्ने भएको छ।

नीति निर्माण, नियमन, वन व्यवस्थापन, जोखिम नक्साङ्कन र जलवायुमैत्री कृषिका क्षेत्रमा अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान गरिनेछ। यसका अतिरिक्त जलाशय पुनःस्थापना र भूमिगत जल प्रदूषण नियन्त्रणका विषयमा पनि दुवै देशबीच विशेषज्ञता आदानप्रदान गर्ने सहमति भएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए), विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन (सीडीआरआई), इसिमोड र अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) जस्ता बहुपक्षीय संस्थामार्फत सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता दुवै देशले जनाएका छन्।

यी समझदारी कार्यान्वयनमा आए नेपाल–भारतबीच जलविद्युत् उत्पादन, ऊर्जा व्यापार, बाढी नियन्त्रण र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित