पाँचथर ।
कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै अन्न उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सञ्चालन गरेको प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रमअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला किसानका खेत तथा खलामै पुगेर धान उत्पादनको विवरण संकलन र नापजाँच गरिरहेका छन्।
कृषकले उत्पादन गरेको अन्नको वास्तविक परिमाण पहिचान गरी सोही आधारमा पुरस्कार प्रदान गर्न गाउँपालिकाले धान भित्र्याउने समयमा स्थलगत अनुगमन गर्दै आएको हो। आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको यो कार्यक्रमले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको गाउँपालिकाको विश्वास छ।
यसैक्रममा मिक्लाजुङ–७ लिम्बाका कृषक बमबहादुर बोहोराले आफ्नो खेतमा धान झार्ने जानकारी वडा कार्यालयलाई गराएका थिए। त्यसपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको उपस्थितिमा धानको नापजाँच गरिएको थियो। बोहोराको एउटा खलाबाट मात्रै २५ मुरी धान उत्पादन भएको पुष्टि भएको छ। यस वर्ष उनले कुल ७० मुरीभन्दा बढी धान भित्र्याएका छन्।
गाउँपालिकाभित्र धेरै धान उत्पादन गर्ने किसानमध्ये बोहोरा पनि अग्रस्थानमा रहेकाले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए। धान उत्पादनसँगै गोठे मल उत्पादनमा पनि उनले पुरस्कार पाउन सक्ने रेग्मीको भनाइ छ।
गाउँपालिकाका प्रवक्ता अविशन लावतीका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि अन्नबालीसँगै प्राङ्गारिक मल उत्पादनलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। हालको मापदण्डअनुसार ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो बनाउनेलाई ३० हजार रुपैयाँ तथा ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने गरिएको छ।
त्यस्तै, १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्ने किसानलाई पनि २५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराइँदै आएको छ।
पुरस्कार प्राप्त गर्न किसानले बाली भित्र्याउनुअघि नै वडा कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था छ। त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरी उत्पादनको परिमाण यकिन गर्छ।
कार्यक्रममा सहभागी किसानको संख्या र उत्पादन दुवै बढ्दै गएपछि गाउँपालिकामाथि आर्थिक भारसमेत बढेको छ। वार्षिक करिब दुई करोड रुपैयाँसम्म पुरस्कार वितरणमा खर्च हुन थालेपछि यस वर्षदेखि कार्यविधिमा केही संशोधन गरी मापदण्ड थप व्यवस्थित बनाउने तयारी गरिएको प्रवक्ता लावतीले जानकारी दिए। उनका अनुसार संशोधन भए पनि किसानले पाउँदै आएको प्रोत्साहनलाई निरन्तरता दिइनेछ।
गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईका अनुसार यस वर्ष पनि धान, मकै, आलु तथा प्राङ्गारिक मल उत्पादनबारे पूर्वजानकारी दिन किसानलाई वडा कार्यालयमार्फत सूचित गरिएको थियो। किसानले दिएको निवेदनका आधारमा अहिले प्राविधिक टोलीले उत्पादनको विवरण संकलन गरिरहेको छ।
कोभिड–१९ महामारीपछि गाउँमै खाद्यान्न उत्पादन बढाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित गाउँपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो। सुरुवाती चरणमा ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने तथा तोकिएको आकारको मकैको थाङ्ग्रो बनाउने किसानलाई एक लाख रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको थियो। त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन दिइन्थ्यो। लाभग्राहीको संख्या बढ्दै गएपछि भने पुरस्कारको दरमा परिवर्तन गरिएको गाउँपालिकाले जनाएको छ।
गत आर्थिक वर्षमा मात्रै मिक्लाजुङ गाउँपालिकाले ५८६ जना किसानलाई कुल एक करोड ८५ लाख ६५ हजार रुपैयाँ पुरस्कार वितरण गरेको थियो। त्यस वर्ष धान उत्पादन गर्ने १०७ किसानले ५३ लाख ५० हजार, मकै उत्पादन गर्ने २४८ किसानले ७४ लाख ४० हजार र आलु उत्पादन गर्ने ६७ किसानले १६ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
त्यसैगरी, प्राङ्गारिक मल उत्पादन गर्ने १६४ किसानलाई ४१ लाख रुपैयाँ वितरण गरिएको थियो। पुरस्कार पाउने किसानको संख्या हरेक वर्ष बढ्दै जानुले उत्पादनमूलक कृषि गतिविधिमा आकर्षण बढेको गाउँपालिकाको निष्कर्ष छ।
पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि धान उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको छ। त्यहाँ ५० मुरीभन्दा बढी धान फलाउनेलाई ३० हजार र १०० मुरीभन्दा बढी उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।
सिँचाइ सुविधा तुलनात्मक रूपमा राम्रो भएका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका पाँचथरका प्रमुख अन्न उत्पादन क्षेत्रका रूपमा चिनिन्छन्। स्थानीय तहले उत्पादनका आधारमा किसानलाई नगद पुरस्कार दिन थालेपछि ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्ने प्रयासले थप गति लिने अपेक्षा गरिएको छ।