सिन्धुपाल्चोक
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार बनेका युवराज दुलाल जिल्लाको विकास, पूर्वाधार निर्माण र जनजीविकाका मुद्दालाई मुख्य एजेन्डा बनाएर सशक्त रूपमा अघि बढिरहेका छन् । लामो समयदेखि स्थानीय राजनीति, सामाजिक सेवा र विकास अभियानमा निरन्तर क्रियाशील दुलाललाई जिल्लावासीले विकासप्रेमी, इमानदार र काममुखी नेता का रूपमा हेर्ने गरेका छन् । जनताको समस्या सुन्ने मात्र होइन, समाधान खोज्न अग्रसर हुने उनको व्यवहारिक शैलीका कारण उनी आममतदातामाझ दिनप्रतिदिन लोकप्रिय बन्दै गएका छन् ।
भाषणभन्दा काममा विश्वास गर्ने उनको राजनीतिक चरित्र नै आज उनको सबैभन्दा ठूलो शक्ति बनेको छ । यसअघि प्रदेश सांसदको जिम्मेवारी सम्हाल्दा युवराज दुलालले निर्वाह गरेको भूमिका जिल्लामा अझै अनुकरणीय मानिन्छ । प्रदेशसभामा रहँदा उनले सिन्धुपाल्चोकको पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, शिक्षा–स्वास्थ्य क्षेत्रको सुधार तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण पहल गरेका थिए । स्थानीय तह र प्रदेश सरकारबीच प्रभावकारी समन्वय गर्दै विकास योजना कार्यान्वयनमा जोड दिने उनको कार्यशैलीले धेरै अधुरा योजनाहरूले गति लिएका थिए । प्रदेश तहमा महत्त्वपूर्ण पदमा रहेर पनि सधैं गाउँ–बस्तीमै भेटिने, जनताका गुनासा प्रत्यक्ष सुन्ने र तत्काल समाधान खोज्ने उनको शैलीले उनलाई जनतासँग प्रत्यक्ष जोडिएका नेता का रूपमा स्थापित गरायो । युवराज दुलालको अर्को सबल पक्ष भनेको उनको व्यक्तिगत लोकप्रियता र मिलनसार स्वभाव हो ।
उनी राजनीतिक आस्था, वर्ग वा क्षेत्र नहेरी सबैसँग समान व्यवहार गर्ने नेताका रूपमा चिनिन्छन् । गाउँका सामान्य किसानदेखि शिक्षक, व्यवसायी, युवा, महिला र ज्येष्ठ नागरिकसम्म सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने उनको व्यवहारले व्यापक जनविश्वास आर्जन गरेको छ । दुःख–सुख, विवाह–ब्रतबन्ध, सामाजिक अभियान, विपद्का घटना– जहाँसुकै पनि प्रत्यक्ष उपस्थित हुने उनको बानीले उनलाई जिल्लामा फरक पहिचान दिलाएको छ । त्यसैले समर्थकहरू उनलाई “जहाँ समस्या, त्यही युवराज दुलाल” भन्ने विशेषणले चिन्ने गर्छन् । कृषिप्रधान जिल्ला सिन्धुपाल्चोकको वास्तविक आवश्यकता बुझेका दुलालले विकासका ठोस योजनालाई सधैं प्राथमिकतामा राख्दै आएका छन् । गाउँ–बस्ती जोड्ने ग्राभेल तथा पक्की सडक निर्माण, खानेपानी आयोजनाको विस्तार, विद्यालय भवन र स्वास्थ्य चौकी सुधार, विपद्का बेला राहत–उद्धार र पुनर्स्थापनामा उनको निरन्तर सक्रियता देखिँदै आएको छ ।
त्यसैगरी युवालाई लक्षित सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, कृषि उत्पादन वृद्धि, मल–बीउ व्यवस्थापन, सिँचाइ सुविधा विस्तार र स्थानीय उत्पादनको बजार प्रवर्द्धन उनका मुख्य एजेन्डा हुन् । उनले बारम्बार भन्दै आएका छन् कि जिल्लाको समृद्धि सम्भव बनाउन कृषि, पर्यटन र युवाशक्तिलाई सँगसँगै अघि बढाउनुपर्छ । स्थानीयवासीहरूको बुझाइमा युवराज दुलाल भविष्यका लागि भरोसायोग्य युवा नेतृत्व हुन् । उनीहरू भन्छन्, “ठूला–ठूला आश्वासन दिने होइन, काम गरेर देखाउने नेता हुन् युवराज दुलाल । प्रदेशमा हुँदा पनि जनताकै बीचमा रहे, अब केन्द्र तहमा पुगेपछि जिल्लाको विकासले नयाँ गति लिन्छ भन्ने हाम्रो विश्वास छ ।” विकासप्रेमी सोच, मिलनसार स्वभाव, व्यवहारिक राजनीति र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण दुलाल सिन्धुपाल्चोक–२ का लागि आशालाग्दा उम्मेदवारका रूपमा उभिएका छन् । जिल्लाको समग्र समृद्धि, रोजगारी सिर्जना र जनताको जीवनस्तर उकास्ने स्पष्ट दृष्टिकोणसहित अघि बढेका उनीप्रति मतदाताको समर्थन र भरोसा झन् बलियो बन्दै गएको देखिन्छ ।