टी-२० विश्वकपमा शेरको गर्जन — डेब्युको पहिलो बलमै विकेट
टी-२० विश्वकपमा शेरको गर्जन — डेब्युको पहिलो बलमै विकेट
    • बेल संचार

    • २५ माघ २०८२, आईतवार

मुम्बई ।

टी-२० विश्वकप जस्तो ठूलो मञ्च, सामने दुई पटकको विश्व विजेता इंग्ल्याण्ड, र आइकोनिक वानखेडे स्टेडियम। यस्तो माहोलमा २३ वर्षीय शेर मल्लले गरेको डेब्यु साँच्चै ‘ड्रिम स्टार्ट’ बन्यो।

नेपालका लागि पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल्दै शेरले आफ्नो पहिलो ओभरको पहिलो बलमै इंग्ल्याण्डका खतरनाक ओपनर फिल साल्टलाई पभेलियन फर्काए। विश्वकपमा डेब्यु गर्ने हरेक खेलाडीको सपना हुन्छ—तर पहिलो बलमै विकेट? त्यो भने कमैलाई जुरेको क्षण हो।

शेर टी-२० विश्वकपको पहिलो बलमै विकेट लिने दोस्रो नेपाली खेलाडी बने। यसअघि सन् २०१४ मा पारस खड्काले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएका थिए। संयोग नै भन्नुपर्छ, यसपटक शेरलाई डेब्यु क्याप पनि पारस खड्काले नै प्रदान गरेका थिए।

घरेलु क्रिकेटमा निरन्तर प्रभाव जमाउँदै आएका शेर नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शनपछि राष्ट्रिय टिममा परेका हुन्। दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन उनले १० खेलमा १७ विकेट लिएर इमर्जिङ प्लेयर अवार्ड जितेका थिए।

लोअर अर्डरमा आक्रामक ब्याटिङ गर्न सक्ने बलिङ अलराउन्डर शेरले सन्दीप लामिछाने र ललित राजवंशीजस्ता अनुभवी स्पीनरहरू भएको टिममा पनि आफ्नो स्थान सुरक्षित गरे।

विश्वकपमा समूह ‘सी’ का सबै खेल वानखेडेमा खेल्ने नेपालका लागि स्पिन सहयोगी पिचले पनि शेरलाई मौका दिलाउन भूमिका खेलेको थियो। अवसर पाएपछि उनले आफूलाई प्रमाणित गर्न समय लगाएनन्।

अब शेर मल्ल केवल ‘नयाँ अनुहार’ होइनन्—उनी विश्वकपको मञ्चमा गर्जिएको नाम बनेका छन्।

साताकाे चर्चित
सम्बन्धित