कञ्चनपुर ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुरमा प्रचारप्रसार तीव्र बनेको छ। यसैबीच निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो आएपछि सम्बन्धित निकायले अनुगमन र कडाइ बढाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी गाडी तथा मोटरसाइकल राजनीतिक सभा, जुलुस र सार्वजनिक कार्यक्रममा प्रयोग भएको सूचना प्राप्त भएपछि निगरानीलाई थप सक्रिय बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए।
उनले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक अन्य राजनीतिक प्रयोजनमा प्रयोग नगर्न स्पष्ट निर्देशन दिएका छन्। “सरकारी सवारीसाधनको प्रयोग पूर्ण रूपमा आचारसंहिताअनुसार हुनुपर्छ,” उनले भने, “उल्लंघन पाइए नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।”
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अनुगमन भइरहेको र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिएका छन्।