पशुपतिमा महाशिवरात्रि तयारी पूर्णरूपमा सुरु, साधु–सन्त र भक्तजनको आगमन बढ्दै
पशुपतिमा महाशिवरात्रि तयारी पूर्णरूपमा सुरु, साधु–सन्त र भक्तजनको आगमन बढ्दै
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

फागुन ३ गते मनाइने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथमा तयारी तीव्र पारिएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले मूल समारोह समितिका नौवटा विषयगत उपसमितिहरू सक्रिय रहेको जानकारी दिएका छन्। उनले बताए, “साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पुर्याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ।”

महाशिवरात्रि पर्वमा ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको छ। सुरक्षा कर्मचारी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले जानकारी दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिले पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ।

देशका विभिन्न भू–भाग र भारतबाट साधु–सन्तहरूको आगमन सुरु भइसकेको छ। विभिन्न अखडा र सम्प्रदायका साधु–सन्तहरूले पशुपति क्षेत्रमा आफ्नो धुनी स्थापना गर्दै ध्यान, तपस्या र साधनाका लागि तयारी गरिरहेका छन्।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व भएकाले स्वदेशी र विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। यस पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार र सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित