सुदूरपश्चिममा नवजात, शिशु र बाल मृत्युदर सबैभन्दा बढी, राष्ट्रिय सर्वेक्षणले देखायो
सुदूरपश्चिममा नवजात, शिशु र बाल मृत्युदर सबैभन्दा बढी, राष्ट्रिय सर्वेक्षणले देखायो
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

राष्ट्रिय तथ्यांक कार्यालयको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का अनुसार नवजात शिशु, शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च रहेको पाइएको छ।

सर्वेक्षणले देखाएको तथ्यांक अनुसार नेपालमा हरेक १ हजार जीवित जन्मिएका शिशुमध्ये १७ जना जन्मेको महिनाभित्र, २७ जना एक वर्षभित्र र पाँच वर्षमुनिका ३१ बालबालिकाको मृत्यु हुने गरेको छ। प्रादेशिक रूपमा हेर्दा नवजात मृत्युदर सुदूरपश्चिममा २६, बागमतीमा १० रहेको छ। शिशु मृत्युदर सुदूरपश्चिममा प्रतिहजार ३८ र बागमतीमा १७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिममा प्रतिहजार ४८ र गण्डकीमा २० रहेको तथ्यांकले देखाएको छ।

सर्वेक्षणका लागि नेपालभर ५४० क्लष्टर छानिएको थियो, जसमा शहरी क्षेत्रबाट ३०४ र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर समावेश थिए। प्रत्येक क्लष्टरबाट २४ परिवारको विवरण संकलन गरी कुल १२,९६० परिवारको तथ्यांक संकलन गरिएको थियो।

विश्वव्यापी दीगो विकास लक्ष्यअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार १२ वा कम र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर २५ वा कम राख्ने लक्ष्य राखिएको छ।

सर्वेक्षण अनुसार नवजात, शिशु र बालबालिकामा बालकको मृत्युदर बालिकाभन्दा बढी देखिएको छ। प्रतिहजार जीवित जन्ममा एक महिनाभित्रका बालक १८ र बालिका १५, शिशु अवस्था बालक २७ र बालिका २६, पाँच वर्षमुनिका बालक ३१ र बालिका ३० रहेको तथ्यांकले पुष्टि गरेको छ।

साताकाे चर्चित
सम्बन्धित