काठमाडौँ ।
सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्ने आयोगको म्याद तेस्रो पटक थप्ने तयारी गरेको छ। सोमबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा म्याद थपबारे निर्णय हुने अपेक्षा गरिएको छ।
गत असोज ५ गते गठन गरिएको तीन सदस्यीय जाँचबुझ आयोगको नेतृत्व पूर्व विशेष अदालत न्यायाधीश गौरीबहादुर कार्कीले गरेका छन्। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
तीन महिनाको समय दिएर गठन गरिएको आयोगले निर्धारित समयमा काम नसक्दा पुस ३ गते मन्त्रिपरिषद्ले एक महिनाका लागि म्याद थपेको थियो। त्यसपछि माघ ८ गते फेरि २० दिन थपिएको थियो। यो म्याद बुधबार (माघ २८ गते) सकिँदैछ।
आयोगले जेनजी आन्दोलनमा भएको बल प्रयोग र अन्य घटनाको छानबिन गर्दैछ। २०७८ भदौ २३ र २४ गतेको आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। नयाँ म्याद थपे पनि आयोगले कति समय काम गर्ने भन्ने निर्णय भने अहिलेसम्म तय भएको छैन।









