चुनाव नजिकिँदै गर्दा नेप्सेमा २६ अंकको गिरावट, लगानीकर्तामा निराशा
चुनाव नजिकिँदै गर्दा नेप्सेमा २६ अंकको गिरावट, लगानीकर्तामा निराशा
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सेयर बजारमा भने उत्साह देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पुनः दोहोरो अंकले घटेको छ। आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले ओरालो लाग्दै २६७२.३९ बिन्दुमा बन्द भएको हो।

कारोबार सुरु भएदेखि नै बजार दबाबमा देखिएको थियो। सुरुमा २६९८.४५ अंकमा खुलेको सूचक दिनभर घट्दो क्रममा रहे पनि अन्तिम समयमा गिरावटको गति केही कम भएको थियो।

यस दिन ३२४ कम्पनीका १ लाख २ हजार २८१ कारोबारबाट २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। यो कारोबार रकम आइतबारको ११ अर्ब ५९ करोड रुपैयाँभन्दा कम हो।

सोमबार २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको मूल्य बढेको छ। खानीखोला र रिडी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन।

समूहगत परिसूचकमा पनि अधिकांश क्षेत्रमा गिरावट देखिएको छ। बैंकिङ १०.६ अंक, विकास बैंक ७९.०७, वित्त ५८.१३, होटल १०४.२०, जलविद्युत् १९.६१, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंकले घटेका छन्। व्यापार समूह भने ९.०१ अंकले बढेको एकमात्र क्षेत्र रह्यो।

निर्वाचन नजिकिँदा बजारमा लगानी बढ्ने अपेक्षा गरिए पनि हाल देखिएको लगातार गिरावटले आम लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषण गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित