काठमाडौं ।
सेयर बजारमा लगानी सधैं जोखिमसँग जोडिएको हुन्छ। तर सबै कम्पनीका सेयरको जोखिम स्तर समान हुँदैन। वित्तीय रूपमा कमजोर, सीमित समूहको नियन्त्रणमा रहेका वा नियामकीय मापदण्ड पालना नगर्ने कम्पनीमा लगानी तुलनात्मक रूपमा बढी जोखिमपूर्ण मानिन्छ।
यसै सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलरले कारोबार गर्न मिल्ने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। बजारमा सूचीकृत साढे दुई सयभन्दा बढी स्क्रिपमध्ये आधाभन्दा कम कम्पनी मात्र कारोबारयोग्य वर्गमा परेका छन्।
नेप्सेले ‘स्टक डिलर कार्यसञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीलाई मात्र यस सूचीमा समावेश गरेको जनाएको छ। वित्तीय पारदर्शिता, नियमन दायराभित्रको सञ्चालन र तुलनात्मक रूपमा पर्याप्त फ्लोट सेयरजस्ता आधारमा कम्पनी छनोट गरिएको हो।
स्टक डिलरमार्फत कारोबार हुने सेयरलाई तुलनात्मक रूपमा स्थिर र सुरक्षित मानिन्छ। मूल्य अस्वाभाविक रूपमा बढ्दा आपूर्ति बढाउने र अत्यधिक घट्दा खरिदमार्फत बजार सन्तुलनमा सहयोग पुग्ने विश्वास गरिन्छ। हाल नागरिक स्टक डिलर र नबिल स्टक डिलर सञ्चालनमा छन्।
नेप्सेको वर्गीकरणअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन तथा निर्जीवन बीमा, जलविद्युत, लगानी कम्पनी, होटल, सिमेन्ट र अन्य क्षेत्रका विभिन्न कम्पनीहरू कारोबारयोग्य सूचीमा परेका छन्।
बैंकिङ क्षेत्रबाट कृषि विकास बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंकलगायतका अधिकांश ठूला वाणिज्य बैंक समावेश छन्।
बीमा क्षेत्रमा नेपाल लाइफ, नेसनल लाइफ, हिमालयन लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्सलगायत प्रमुख कम्पनीहरू परेका छन्।
ऊर्जा क्षेत्रमा चिलिमे, बुटवल पावर, अपी पावर, साहस ऊर्जा, सानिमा माई हाइड्रोपावरलगायत दर्जनौं जलविद्युत कम्पनी समावेश छन्।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्सलगायत कम्पनी पनि सूचीमा छन्।
नेप्सेको यो वर्गीकरणले लगानीकर्तालाई तुलनात्मक रूपमा स्थिर र नियमनअनुरूप सञ्चालनमा रहेका कम्पनी छुट्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।