चुनाव नजिकिँदै जाँदा विदेशबाट नेपाली फर्किने लहर
चुनाव नजिकिँदै जाँदा विदेशबाट नेपाली फर्किने लहर
    • बेल संचार

    • २८ माघ २०८२, बुधबार

काठमाडौं ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विदेशमा रहेका नेपालीहरूको स्वदेश फर्किने क्रम उल्लेख्य रूपमा बढेको छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि हुने मतदानलाई लक्षित गर्दै प्रवासी नेपालीहरू पनि सक्रिय देखिएका हुन्।

विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने विषयमा अघिल्ला वर्षहरूमा बहस भए पनि कानुनी व्यवस्था नबन्दा यसपटक पनि उनीहरूलाई मतदानका लागि स्वदेश नै फर्किनु परेको छ। यही कारण पछिल्ला दिनमा ‘डिपार्चर’ भन्दा ‘अराइभल’ बढी देखिएको अध्यागमन विभागको तथ्यांकले संकेत गर्छ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार माघ १८ देखि २७ सम्म ५१ हजार ७९ जना नेपाल फर्किएका छन् भने सोही अवधिमा ५० हजार मात्रै विदेशिएका छन्। अर्थात् फर्किनेको संख्या झण्डै एक हजारले बढी छ।

देशअनुसार हेर्दा साउदी अरेबियाबाट ४ हजार ७०७ जना फर्किएका छन् भने कतारबाट ५ हजार ५१७ जना नेपाल आएका छन्। त्यही अवधिमा कतारतर्फ ५ हजार ६ जना गएका छन्।

सन् २०२६ जनवरी (पुस १७ देखि माघ १७) को एक महिनाको तथ्यांक झन् रोचक छ। यस अवधिमा १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् भने १ लाख ५७ हजार ६५८ जना मात्रै विदेशिएका छन्। यूएईबाट मात्रै २६ हजार ४ सय जना नेपाल फर्किएका छन्, जबकि त्यतैतर्फ १८ हजार ४०० जना गएका छन्। कतार र साउदीबाट पनि आउनेको संख्या उल्लेख्य देखिएको छ।

पछिल्ला पाँच महिनाको प्रवृत्ति हेर्दा पनि केही अवधिमा आउनेको संख्या जानेभन्दा बढी देखिएको छ। कात्तिक १५ देखि मंसिर १५ सम्म १ लाख ४९ हजार नेपाली स्वदेश फर्किएका थिए, जबकि १ लाख ४४ हजार विदेशिएका थिए।

नयाँ वर्षमा विदेशमा लामो बिदा हुने प्रचलनका कारण पनि केही संख्या बढेको हुनसक्ने अध्यागमन विभागको आकलन छ। तर समाजशास्त्री डा. दिनेश प्रसाईं भने चुनाव नै मुख्य कारण भएको बताउँछन्। उनका अनुसार, “अरू ठोस कारण देखिँदैन, निर्वाचन नै प्रमुख कारक हुन सक्छ।”

प्रवासी नेपालीहरूले मतदान अधिकारको प्रत्यक्ष प्रयोग गर्न नपाए पनि आफ्नो मताधिकार सुनिश्चित गर्न स्वदेश फर्किने यो क्रमले निर्वाचनप्रति उनीहरूको चासो र प्रतिबद्धता झल्काएको छ।

साताकाे चर्चित
सम्बन्धित