बूढीगण्डकीमा सुक्खा पहिरोले थुनिएको नदी खुल्दा आकस्मिक बाढी आएको सेनाको प्रारम्भिक निष्कर्ष
बूढीगण्डकीमा सुक्खा पहिरोले थुनिएको नदी खुल्दा आकस्मिक बाढी आएको सेनाको प्रारम्भिक निष्कर्ष
    • बेल संचार

    • २५ आश्विन २०८३, आईतवार

काठमाडौं ।

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको आकस्मिक बाढी सुक्खा पहिरोका कारण नदीको बहाव अवरुद्ध भएर पछि खुलेपछि आएको हुन सक्ने नेपाली सेनाले जनाएको छ। सेनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीका आधारमा यस्तो प्रारम्भिक अनुमान गरिएको हो।

आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा पहिरो गएको र त्यसले नदीको बहाव रोकेको हुन सक्ने बताइएको छ। अवरुद्ध बहाव खुलेपछि माटो र गेग्रानसहितको ठूलो बाढी तल्लो क्षेत्रमा आएको प्रारम्भिक विवरण छ।

नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डामा बिहान ५ बजेर ५५ मिनेटमा बूढीगण्डकी नदी थुनिएको प्रारम्भिक सूचना पुगेको थियो। त्यसपछि गोरखामा तैनाथ रुद्रध्वज गणको बाङ्गसिङ सुरक्षा पोस्टबाट बिहान सवा ६ बजे घटनास्थलको अवस्था बुझ्न रेकी टोली परिचालन गरिएको थियो।

टोलीले चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको सेनाको प्रतिवेदनमा उल्लेख छ। यही विवरणका आधारमा पहिरोले नदी थुनेर पछि खुलेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। यद्यपि बाढीको वास्तविक कारणबारे विस्तृत अनुसन्धान हुन बाँकी छ।

बाढीको उद्गमस्थल पत्ता लगाउन ड्रोनबाट अध्ययन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बूढीगण्डकीमा आएको बाढीको प्रकृति यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीसँग मिल्दोजुल्दो देखिएको छ। तर दुवै घटनाको उद्गम र कारण एउटै भएको निष्कर्षमा पुग्न नसकिने उनले बताएका छन्।

बाढीका दृश्यमा कालो माटो, लेदो र गेग्रान मिसिएको ठूलो बहाव देखिएको छ। नदीको माथिल्लो क्षेत्रमा के कारणले यस्तो अवस्था सिर्जना भयो भन्ने पत्ता लगाउन प्राधिकरणको टोली ड्रोनसहित परिचालन गरिएको उप्रेतीले जानकारी दिएका छन्।

यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी हिमनदीको ठूलो भाग खसेपछि उत्पन्न भएको बताइएको थियो। उक्त घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको थियो। बूढीगण्डकीको बाढीमा भने हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको छ।

पुल, घर र जलविद्युत् आयोजनामा क्षति

आकस्मिक बाढीले गोरखाका विभिन्न स्थानमा रहेका पुल, घर तथा अन्य संरचना बगाएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को न्याकचेतबाट सिर्दिबासतर्फ जाने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ।

गोरखाको आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा खण्डसमेत बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त मार्गको आवागमन प्रभावित भएको छ।

धार्चे गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावरहाउस तथा आसपासका आठदेखि १० वटा घर बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

त्यस्तै, एउटा कच्ची घर बगाएको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा अन्य २२ वटा घर जोखिममा रहेको विवरण सार्वजनिक भएको छ। क्षतिको यकिन विवरण भने संकलन हुन बाँकी छ।

हेलिकप्टरबाट छ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यसमेत सञ्चालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–३ को जगत क्षेत्रबाट छ जनालाई सकुशल उद्धार गरिएको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन गर्ने, जोखिममा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्ने र बाढीबाट भएको क्षतिको विवरण यकिन गर्ने काम भइरहेको छ।

बाढीको कारण, माथिल्लो क्षेत्रमा भएको भौगर्भिक घटनाको प्रकृति तथा थप क्षतिको सम्भावनाबारे सम्बन्धित निकायले अध्ययन गरिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित