काठमाडौं ।
विपद्का कारण भोक र अभावमा रहेका सामुदायिक कुकुर तथा बिरालाहरूका लागि रसुवाको टिमुरेमा पुन खाद्य सामग्री पुर्याइएको छ । सडक तथा स्थलमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका जनावरसम्म पुग्न कठिन भइरहेको अवस्थामा Temple Dog Rescue को पहल, International Fund for Animal Welfare (IFAW) को सहयोग र नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) को समन्वयमा सहयोग अभियानलाई निरन्तरता दिइएको हो । विपद्का कारण मानिससँगै कुकुर र बिरालाहरू पनि खाना तथा पानीको अभावमा कठिन अवस्थामा परेका छन् । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहँदा आफ्नो भोक र पीडा व्यक्त गर्न नसक्ने यी आवाजविहीन जीवहरू प्रायः ओझेलमा पर्ने गर्छन् ।
यही अवस्थालाई ध्यानमा राख्दै उनीहरूका लागि आवश्यक खाद्य सामग्री पुर्याइएको हो । यसअघि रसुवाको स्यार्फुवेशीमा पनि विपद्का कारण लामो समयदेखि खान नपाएका करिब ६०–७० वटा सामुदायिक कुकुरका लागि खाद्य सामग्री पुर्याइएको थियो ।
सडक सम्पर्क विच्छेद भएका कारण प्रभावित क्षेत्रमा सहयोग पुर्याउन कठिन भइरहेको अवस्थामा Temple Dog Rescue ले IFAW को सहकार्यमा उपलब्ध गराएको सहयोगलाई NAWES ले सरकारी निकायसँग समन्वय गर्दै विश्व खाद्य कार्यक्रम (WFP) को हेलिकप्टरमार्फत दुर्गम क्षेत्रमा रहेका कुकुरसम्म पुर्याउन सहजीकरण गरेको थियो ।
स्यार्फुवेशीपछि टिमुरेमा समेत कुकुर र बिरालाहरूका लागि सहयोग पुर्याइनुले विपद्को समयमा जनावरको जीवन र कल्याणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ । कठिन भौगोलिक अवस्था र यातायात अवरोधका बीच Temple Dog Rescue, IFAW को सहकार्यमा उपलब्ध गराएको सहयोगलाई NAWES ले सरकारी निकायसँग समन्वय गर्दै विश्व खाद्यसंस्था तथा सम्बन्धित निकायबीचको सहकार्यले प्रभावित जनावरसम्म खाद्य सामग्री पुर्याउने प्रयासलाई निरन्तरता दिन सम्भव बनाएको छ । NAWES की अध्यक्ष सुमेधा गौतम मैनालीले विपद्का कारण भोकै बस्न बाध्य जनावरसम्म खाना पुर्याउन सक्नु सन्तोष र खुसीको विषय भएको बताइन् । मानिसहरूका लागि राहत पुगिरहँदा बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले अभियानमा सहकार्य गरिएको उनको भनाइ छ ।
त्यस्तै, NAWES का कार्यकारी निर्देशक हरि प्रसाद जोशीले विपद्का बेला पशुहरू पनि उत्तिकै प्रभावित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको अभिन्न हिस्साका रूपमा लिनुपर्ने बताए । उनका अनुसार जनावरहरू आफ्नो भोक र पीडा व्यक्त गर्न वा आफैं सहयोग माग्न सक्दैनन् । त्यसैले यस्तो कठिन अवस्थामा उनीहरूसम्म खाना र आवश्यक सहयोग पुर्याउनु मानवीय जिम्मेवारीसमेत भएको उनले बताए । विपद्को असर मानिसमा मात्र सीमित हुँदैन । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जनावरको बासस्थानमा क्षति पुग्नु, खाना र पानीको पहुँच बन्द हुनु तथा सुरक्षित स्थानमा पुग्न नसक्नुजस्ता समस्या उत्पन्न हुन्छन् ।
विशेषगरी सामुदायिक कुकुर र बिरालाहरूका लागि यस्तो अवस्था थप कठिन बन्न सक्छ । स्यार्फुवेशीपछि टिमुरेसम्म विस्तार भएको यो सहयोग अभियानले विपद् व्यवस्थापनमा मानिससँगै जनावरको जीवन र कल्याणलाई पनि समेट्नुपर्ने सन्देश दिएको छ । जनावरको मौन पीडा बुझेर समयमै खाना र आवश्यक सहयोग पुर्याउन सकिए उनीहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।