भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी संक्रमित
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी संक्रमित
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना संक्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु  भएको  छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना संक्रमित भएका हुन् । अघिल्लो दिन आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ संक्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार संक्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक संक्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ६४ हजार ४५८ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या २०० दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितको संख्या कम हुँदै गएको तथ्यांकले देखाएको छ ।

दैनिक संक्रमितको संख्याभन्दा दैनिक संक्रमणमुक्त हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या कम हुँदै गएको हो । आइतबार दिनभर २० हजार ७९९ संक्रमित हुँदा २६ हजार ७१८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३१ लाख २१ हजार २४७ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ७९ लाख ३२ हजार भन्दा बढी डोज खोप लगाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित