३ जना बिरामीको हत्या गर्ने पूर्व नर्सलाई मृत्यु दण्डको सजायको माग
३ जना बिरामीको हत्या गर्ने पूर्व नर्सलाई मृत्यु दण्डको सजायको माग
    • Bell Sanchar

    • ८ कार्तिक २०७८, सोमबार

योकोहामा अस्पतालमा आईभी ड्रिपमा निःसंक्रमण हालेर बिरामीको हत्या गरेको आरोप लागेकी एक पूर्व नर्सलाई अभियोजनकर्ताहरुले मृत्युदण्ड दिनु पर्ने माग गरेका छन् । ३४ वर्षिय आयुमी कुबोकीमाथि सन् २०१६ मा तीन जना बिरामीको हत्या गरेको आरोप लागेको छ । कुबोकी स्वयम्ले पनि ड्रिप ब्यागमा एन्टिसेप्टिक सोलुसन मिसाएको स्वीकार पनि गरेकी छिन् ।

 

 

ड्रिप ब्यागमा एन्टिसेप्टिक सोलुसन मिसाएकै कारण तीन जना बिरामीको मृत्यु भएको थियो । यस मामिलामा कुबोकीले योकोहामा जिल्ला अदालतमा मुद्दा खेपिरहेकी छिन् । प्रतिवादीमा अटिजमका केही लक्षणहरु भएको भएपनि उनी पेशी खेप्न पूर्ण रुपमा सक्षम भएको र अटिजमले अपराध गर्ने उनको निर्णय वा क्षमतामा कुनै प्रभाव नपारेको अभियोजनकर्ताहरुले औंल्याएका छन् ।

तर प्रतिवादीका वकिलहरुले भने पेशीमा अपराध भएको समयमा सिजोफ्रेनियाका कारण कुबोकीको निर्णय क्षमता प्रभावित भएको भन्दै उनको बचाव गरिरहेका छन् । अभियोगअनुसार कुबोकीले सन् २०१६ को सेप्टेम्बरमा हत्या गर्ने अभिप्रायले ओगुची अस्पतालमा ८८ वर्षिय सोजो निशिकावा, ७८ वर्षिय आसाई ओकिचु र ८८ वर्षिय नोबुओ यामाकीको आईभी ड्रिप ब्यागमा निःसंक्रमण हालेकी थिइन् ।आफ्नो ड्यूटीको समय सकिने बित्तिकै बिरामीको मृत्यु होस् र मृतकको परिवारको सामना गर्नु नपरोस् भनेर कुबोकीले आईभी ड्रिपको समय निर्धारण गरेको समेत अभियोजनकर्ताहरुको दाबी छ । सामाजिक रुपमा कमजोर अवस्थामा रहेका मानिसहरुलाई बचाउन सक्ने अवस्थामा रहेको भएपनि उसले निकै स्वार्थी व्यवहार गरेको अभियोजनकर्ताहरुको भनाइ छ । यो मुद्दाको अन्तिम फैसला नोभेम्बर ९ मा हुँदैछ ।

साताकाे चर्चित
सम्बन्धित