अफगानिस्तानमा ठूलो परिवर्तनको संकेत, ५ वर्षपछि तालिबान सर्वोच्च नेता सार्वजनिक
अफगानिस्तानमा ठूलो परिवर्तनको संकेत, ५ वर्षपछि तालिबान सर्वोच्च नेता सार्वजनिक
    • Bell Sanchar

    • १५ कार्तिक २०७८, सोमबार

५ वर्षसम्म पर्दापछाडि रहेर आफ्नो संगठनलाई शक्तिशाली बनाइरहेका तालिबान सर्वोच्च नेता हिबतुल्ला अखुंदजादा सार्वजनिक भएका छन् । अखुंदजादाले तालिबानका संस्थापक प्रमुख मुल्ला उमरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि २०१६ मा संगठनको सर्वोच्च पद सम्हालेका थिए । तालिबान अधिकारीहरुले आइतबार अखुंदजादाले अफगानिस्तानको कान्दाहार सहरमा आम जनतालाई सम्बोधन गरेको बताएका छन् ।

तालिबानले अगष्ट १५ मा अफगानिस्तानमा पूर्ण रुपमा नियन्त्रण गरेपछि पनि अखुंखजादा सार्वजनिक भएका थिएनन् । अफगानिस्तानमा तालिबान नियन्त्रण स्थापित भएको अढाइ महिनापछि मात्रै अखुंदजादा सार्वजनिक रुपमा देखिएका छन् । २०१६ मा तालिबानको सर्वोच्च नेता भएपछि नै भूमिगत रहेका अखुंदजादा अहिले यसरी सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसलाई अफगानिस्तानमा ठूलो परिवर्तनको संकेतको रुपमा पनि हेरिएको छ ।

अखुंदजादा प्रमुख भएपछि तालिबानले अमेरिका, रुस आदि देशहरुसँग वार्ता पनि गरेको थियो । यही वार्तामा भएको सहमतिका आधारमा अमेरिका नेतृत्वको नाटो सेना अफगानिस्तानबाट बाहिरिएको थियो । यी सबै वार्ताको नेतृत्व तालिबान नेता मुल्ला अब्दुल गनी बरादरले गरेका थिए तर अखुंदजादा कहिल्यै पनि सार्वजनिक भएका थिएनन् । तालिबानले अफगानिस्तान नियन्त्रण गरेपछि संगठनका नेताबीच मतभेदको खबर बाहिरिएको थियो । तर, त्यतिबेला पनि अखुंदजादा सार्वजनिक नभएपछि उनको मृत्यु भइसकेको हुन सक्ने हल्ला फैलिएको थियो ।

तालिबान अधिकारीहरुका अनुसार सर्वोच्च नेता अखुंदजादाले शनिबार कान्दाहारको दारुल उलुम हकीमाह मदरसाको कार्यक्रममा भाग लिएका हुन् । त्यहाँ उनले आफ्ना लगाकु र समर्थकलाई सम्बोधन गरे । तालिबानले आफ्नो सामाजिक संजालमा अखुंदजादा यो कार्यक्रममा सहभागी भएको कुनै भिडियो वा फोटो साझा गरेको छैन । उसले अखुंदजादाको सम्बोधनको १० मिनेटको अडियो अपलोड गरेको छ ।

तालिबानले यो कार्यक्रम निकै कडा सुरक्षाको बीचमा आयोजना गरिएको र सुरक्षाकै कारण कसैलाई पनि उनको फोटो र भिडियो खिच्न नदिइएको बताएको छ । तालिबानले अपलोड गरेको अडियोमा अखुंदजादाले विश्व राजनीति वा अफगान राजनीतिका बारेमा कुनै कुरा बोलेका छैनन् । उनको पूरै भाषण धर्ममा आधारित छ । उनले मारिएका तालिबानी लडाकुको लागि प्रार्थना गरे र इस्लामी अमिरात आफ्ना अधिकारीको लागि सबैभन्दा ठूलो परिक्ष भएको बताए ।

साताकाे चर्चित
सम्बन्धित