तल्लो सदन निर्वाचनः एलडीपीको स्पष्ट बहुमत
तल्लो सदन निर्वाचनः एलडीपीको स्पष्ट बहुमत
    • Bell Sanchar

    • १५ कार्तिक २०७८, सोमबार

जापानमा आइतबार भएको तल्लो सदनको निर्वाचनमा जनताहरुले सदनको नियन्त्रण पुनः प्रमुख सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई दिएका छन् । प्रधानमन्त्री फुमिओ किशिदाले गठबन्धन साझेदारको मद्दत बिनै स्थिर जनादेश पाएका छन् । योसँगै किशिदाले आफ्नो आर्थिक नीति तथा कोरोना भाइरस नियन्त्रणका उपायहरुसम्बन्धी विधेयकहरु प्रतिनिधि सभाबाट सहजै पारित गराउन सक्ने भएका छन् ।

एलडीपीले सदनको ४६५ मध्ये २६१ सिट जितेको छ । गठबन्धन साझेदार कोमेइतोले पनि ३२ सिटमा जितेको छ । प्रतिपक्षतर्फ कन्ष्टिच्यूशनल डेमोक्रेटिक पार्टी सबैभन्दा ठूलो प्रतिपक्ष दलका रुपमा रहेको छ । यसले ९६ सिट जितेको छ । यो चुनाव अघिको तुलनामा १३ सिट कम हो । निप्पोन इशिन जापान इनोभेशन पार्टीले ४१ सिट जितेको छ । यो चुनाव अघिको तुलनामा भने तेब्बर हो । एलडीपीले पुनः सबै तदर्थ समितिमध्ये आधामा अध्यक्षताको मौका पाएको छ ।किशिदाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक महिना पनि भएको छैन । अब भने मतदाताहरुले आफूलाई जनादेश दिएको र आफूले चुनावी अभियानमा गरेका वाचाहरु पुरा गर्नेतर्फ काम गर्ने किशिदाले बताएका छन् । एकल सिट भएको जिल्लामा मत हार्ने आमारी आकिरा एलडीपीका पहिलो बहालवाला महासचिव बनेका छन् । समानुपातिक तर्फबट उनले जितेको भएपनि महासचिववको पदबाट राजिनामा दिने आशय उनले किशिदासमक्ष व्यक्त गरेका छन् । आमारीले एलडीपीको चुनावी अभियान पनि हेरेका थिए । कोइमोतोले जितेको सिट समेत गरेर सत्तारुढ गठबन्धनले सदनमा आफ्नो प्रभुत्व यथावत् राखेको छ । माथिल्लो सदन पनि गठबन्धनको पकडमा छ ।

साताकाे चर्चित
सम्बन्धित