झिलिमिली हेर्न कुलमान जब चन्द्रागिरि पुगे
झिलिमिली हेर्न कुलमान जब चन्द्रागिरि पुगे
    • Bell Sanchar

    • २१ कार्तिक २०७८, आईतवार

काठमाडौँ — सर्वसाधरणलाई दैनिक १८ घन्टा लामो लोडसेडिङबाट मुक्ति दिलाउने कुशल व्यवस्थापकको जस पाएका कुलमान घिसिङ शुक्रबार साँझ काठमाडौंको उज्यालो हेर्न चन्द्रागिरि पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणको संचालक समितिका तीन सदस्यसहित चन्द्रागिरि पुगेका प्रबन्ध निर्देशक कुलमानको ‘तिहारमा काठमाडौं कस्तो देखिने रहेछ ?’ भनी अवलोकन गर्ने योजना रहेछ ।

चिसो स्याँठ चलिरहेको औंसीको रातमा कुलमान गुपचुप २५ सय मिटर उचाईको चन्द्रागिरिबाट डाँडाभन्दा ११ सय मिटर मुनिको (१४ सय मिचर उचाईमा फैलिएको) काठमाडौं उपत्यकाको उज्यालो नियालिरहेका थिए ।

चन्द्रागिरिबाट काठमाडौं, भक्तपुर र ललितपुरको झिलिमिलि देखिन्थ्यो । तर, सडक देखिएन । डाँडाबाट भक्तपुर–सूर्यविनायक सडक, नैकाप–कलंकी सडक, काठमाडौं विमानस्थल र स्वयम्भू–वनस्थली सडकमात्रै प्रस्ट देखिरहेको थियो । त्यो पनि सडकमा गुडिरहेका गाडीको उज्यालोले ।

‘स्ट्रिट–लाइट नभएकाले सडकहरु देखिएनन्,’ कुलमानले सहर अवलोकन गर्दै भने । उज्यालोकै कारण धरहरा देखियो । उनलाई उज्यालो काठमाडौंको फोटो खिच्ने रहर थियो । तर, मोबाइलको ब्याट्री सकिएकाले उनले अन्य सहयात्रीको मोबाइलबाट ‘पछि फोटो पठाइदिने सर्तमा’ फोटो खिचे– खिचाए ।

०७३ को लक्ष्मी पूजाको दिन विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेयता देश लोडसेडिङ मुक्त भयो । यसबीच उनी आफ्नो पहिलो कार्यकालमा दुईपटक काठमाडौंको उज्यालो हेर्न उपत्यकाका दुईटा अग्ला डाँडा उक्लिएका रहेछन् ।

‘एक पटक स्वयम्भूपारीको डाँडाबाट तिहारको उज्यालो हेरेको छु,’ उनले भने, ‘परार यही डाँडाबाट हेरेको थिएँ ।’ साउनमा प्राधिकरणमा दोस्रोपटक प्रबन्ध निर्देशक भई आएका कुलमानको यो यात्रा यसपटक पहिलो थियो ।

अहिले नेपालमा दिउँसो २ सय र राति ४ सय मेगावाट हाराहारी विद्युत् खेर गइरहेको छ । कागतिहारको दिन नेपालले भारतसँग उर्जा व्यापार सुरु गरेकोको तेस्रो दिन कुलमानले ६ वर्षको काठमाडौं चन्द्रागिरि डाँडाबाट सम्झिँदै भने, ‘लोडसेडिङका बेला एक भाग अँध्यारो हुन्थ्यो । अर्को भाग उज्यालो हुन्थ्यो ।’

 

उनले यति भनेपछि चन्द्रागिरि रिसोर्टको आगनमा रमाइरहेका स–साना केटाकेटीसँग भेट भयो । केटाकेटीहरुले कुलमानलाई नमस्ते अभिवादन गरे । उनीसँगै आएका एक जना सञ्चालक समितिका सदस्यले केटाकेटीहरुलाई प्रश्न गरे, ‘तिमीहरुले कुलमान सरलाई चिनेका छौं ?’ ६–७ वर्ष हाराहारीका केटाकेटीले ‘चिन्दैनौं’ भनेपछि हाँसो गुन्जियो । भीडबाट कसैले भने, ‘यीनीहरु जन्मिँदा नेपालमा लोडसेडिङ नै हटिसकेको थियो । कसरी चिन्नु कुलमान सरलाई ।’

फेरि सबै जना हाँसे । तिहारको बेला रिसोर्टमा बास बस्न पुगेका आन्तरिक पर्यटकहरुको भीडमा कुलमान घिसिङ फोटो सेसन गर्न थाले । यो क्रम चलिरह्यो । धेरैले लोडसेडिङ मुक्त गरेका कुलमानलाई आदरका साथ तिहारको शुभकामना र उज्यालो बनाउने अभियान्तका रुपमा सम्मान प्रकट गरिरहे ।

साताकाे चर्चित
सम्बन्धित