नाथ्री फुट्नुको कारण, लक्षण र उपचारहरु
नाथ्री फुट्नुको कारण, लक्षण र उपचारहरु

सुख्खा हावा मा लामो समय सम्म सास फेरिरहन पर्नु पनि नाथ्री फुट्नु को कारण हुन सक्छ।

    • Bell Sanchar

    • २२ कार्तिक २०७८, सोमबार

नाकबाट रगत बग्नु अर्थात नाथ्री फुट्नु भनेको के हो ?
नाथ्री फुट्नु अर्थात् नाकबाट रगत बग्नुलाई डाक्टरी भाषा मा एपिस्ट्याक्सिस भनिन्छ। नाक भित्र रहेको पातलो झिल्ली फाटेर अचानक रगत बग्नु नै नाथ्री फुट्नु हो। एसरी नाथ्री फुट्दा प्रायः एउटा नाकको प्वालबाट रगत बग्ने गर्दछ । विशेष गरी सुक्खा याममा अत्यधिक धूलोका कारण नाक सुक्खा भएर नाकको भित्री भागमा रगतको सम्प्रेषण हुने नली फुट्ने समस्या पनि देखिन सक्छ। नाथ्री फुट्ने समस्या सबै वर्गमा हुने भएपनि विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। किनकि वृद्धवृद्धालाई उमेरजन्य विभिन्न समस्या देखिन्छ भने बच्चाहरु नाक बढी कोट्याइरहने, धुलो र चर्को घाममा पनि खेल्ने गर्छन्। रुघा लागेपछि नाक र कानको सम्बन्धका कारण बच्चाहरुको कान पाक्न सक्छ। त्यसैले नाकमा रोकावट लामो समयसम्म भइरहयो वा सिँगानसँगै रगत पनि आयो भने तत्कालै उपचार गर्नुपर्छ।

नाकको अघिल्तिबाट रगत बग्ने कारणहरुः

  • पाप्राको कारण नाक कोट्याउने बानी
  • चोटपटक, ठोक्किएर, नाकभित्रको रक्तनली फुटेर
  • रगत जमाउने तत्वमा कमी आउँदा, पिनास
  • रगत पातलो बनाउने औषधिको सेवनका कारण
  • उच्च रक्तचाप, रक्तअल्पता, र हृदयको रोग भएमा
  • फ्लु, क्यान्सर, हिमोफोलिा, लहरे खोकी, निमोनीया तथा टाइफाईड भएमा
  • पिरो, मसलेदार, चटपटे , अमिलो, खानेकुरा, अचार, दही, रक्सी आदि खाना
  • चिसो, रुघाखोकी वा बल गरेर सिँगान फाल्न खोज्दा पनि नाक भित्र रहेको झिल्लीमा दवाव पर्न गई नाथ्री फुट्न सक्छ।

नाकबाट रगत बग्ने समस्या किन गर्मीमा बढी हुन्छ ?

  • नाकबाट रगत बग्ने समस्या प्रायः गर्मीमा हुने गर्छ। गर्मी समयमा तातोपन का कारण नाक मा रहेका रक्तनलीहरू फुल्छन्। कतिपय साना नलीहरू आफैँ फुट्छन र त्यहाँबाट रगत आउँछ।
  • सुख्खा हावा मा लामो समय सम्म सास फेरिरहन पर्नु पनि नाथ्री फुट्नु को कारण हुन सक्छ।

नाकको पछिल्तिरबाट रगत बग्ने कारणहरुः

  • उच्च रक्तचाप
  • नाकको शल्यक्रिया
  • क्याल्सियम को कमी।
  • हेमोफिलिया तथा ल्यूकेमिया जस्ता रोगहरु
  • ट्यूमर को समस्या

नाथ्री फुट्नु का अन्य कारणहरुः

  • कुनै बाहिरी वस्तु नाक भित्र पस्नु।
  • इबोला जस्ता रोगहरु को संक्रमण।
  • रयूम्याटिक ज्वरो।

नाथ्री फुट्नुका लक्षणहरु केके हुन् ?

  • नाकबाट रगत बगेको देखिनु
  • रगत मुख भित्र पनि छिर्ने हुँदा वान्ता हुने र वान्ता हुँदा वान्ता मा रगत देखिनु
  • मुटुको धड्कन तिब्र हुनु
  • श्वासप्रश्वास छिटो हुनु
  • बढी रगत बहेको छ भने अनुहार पहेंलो देखिनु

नाथ्री फुटेर धेरै रगत जाँदा के हुन्छ ?

  • धेरै रगत बग्दा रक्तचाप कम हुने,
  • चक्कर लाग्ने,
  • नाकमा अन्य समस्या देखापर्ने
  • अत्यधिक रगत बगिरहेमा ज्यानलाई नै जोखिम हुने।

नाथ्री फुट्दा गरिने प्राथमिक उपचार

  • सीधा बस्ने र नाकलाई दुवै औंलाले थिच्ने। सकेसम्म रगत घाँटी तिर नबगोस् भन्ने हिसाबले बसेको हुनुपर्छ। रगत घाँटीतिर बग्दै गयो र श्वासनलीतिर पस्यो भने अरु समस्या बढ्न सक्छ।
  • सुत्नु वा निहुरिनु हुँदैन । सकेसम्म मुटुभन्दा नाक माथी परोस् भन्नेतिर विचार पुर्याउनुपर्छ।
  • ५ देखि २० मिनट सम्म नाक थिचिराख्ने र पाइन्छ भने नाक बाहिर बरफको चीसोले सेक्ने।
  • तर २० मिनट सम्म पनि रगत थामिएन भने नाक लाई बढ्ता दवाव नपर्ने गरेर र टाउको सीधै रहने गरेर अस्पताल पुर्याउने।

कस्तो अवस्थामा बिरामीलाई अस्पताल लैजाने ?

  • यदि सामान्य उपचारले पनि नाथ्री फुट्ने समस्या निराकरण नभएमा वा केही दिन बिराई नाथ्री फुट्ने गरेमा डाक्टर लाई देखाउनु पर्ने हुन्छ।

अस्पतालमा नाथ्री फुट्दा गरिने उपचारहरु

  • रगतमा प्लेटलेट्सको कमी भएको हो वा पिनास का कारण रगत बगेको हो सो पत्ता लगाएर उपचार गर्ने गरिन्छ।
  • कटेरीः रगत चुहिएको ठाउँ लाई तातो ले डामेर त्यहाँ बाट रगत आउन नपाउने बनाउन सक्छन् ।
  • सेप्टल सर्जेरीः दुई नाक बीचको भाग लाई अरु कडा पार्नका लागि यो प्रक्रिया अपनाउन सकिन्छ।
  • लिगेशन:  रगत चुहुने रक्तनलीका टुप्पालाई बाँधेर चुहुने मुख बन्द गरेर रगत आउन बाट रोकिन्छ ।
  • नजल प्याकिङः कटन वा स्पोन्जको सानो डल्लो रगत आएको ठाउँमा दवाव पर्ने गरेर राखिन्छ जसले गर्दा रगत आउन रोकिने सम्भावना हुन्छ।

नाथ्री फुट्नबाट कसरी जोगाउने ?

  • नाक कोट्याउने बानी लाई हटाउने।
  • बल गरेर सिँगान नफाल्ने।
  • नाक सुख्खा भएको महसूस भएमा नाकमा भ्यासेलिन वा अन्य मोस्चराइजिङ लगाउने।
  • नाथ्री फुटेपछि केही दिनसम्म नूनपानीले नाक सफा गर्ने।
  • न्यासोजेल वा अन्य वाटर बेस्ड जेल नाकको भित्री सतहमा लगाउने।
  • गर्मी वा सुख्खापनबाट जोगिने।
  • इबुप्रोफेन, टाइलिनल, प्यारासिटामोल, एस्पिरिनजस्ता औषधिको सेवन घटाउने।
  • रक्तचाप नियन्त्रणमा राख्ने।
  • धूमपान, लागू पदार्थ सेवन जस्ता कार्य नगर्ने।
  • मुखबाट सास फेर्ने
  • गर्मीको दिनमा बिहान बेलुका सकेसम्म नुहाउने
  • गुलियो अंगुरको रस खाने
  • धनीयाँको हरियो पातको वा प्याजको रस रोगीको २-२ थोपा नाकमा हाल्ने

के खाने ?

  • एक गिलास दुधमा दुईवटा पाकेको केरा मिलाएर १५ दिनसम्म लगातार खाने
  • हल्का र तरल खालका खानेकुराहरु खाने
  • सुन्तलाको रस सकेसम्म प्रशस्त पिउने
  • अमलाको तितौरा खाँदा स्वास्थ्यलाइ लाभ हुन्छ
  • मिस्री पानी सधै पिउने, पानीको मात्रा बढाउने

के नखाने ?

  • गर्मीमा चिल्लो खानेकुराबाट सकभर जोगिने
  • तारेको र पिरो खानेकुराहरु नखाने
  • गर्मीमा बढी लसुन, माछा, मासु र अण्डामा जोड नगर्ने
  • गर्मीको मौसममा चिसो बरफ नखाने, मनलागे तापक्रम मिलाएर खाने
  • गर्मीमा चिया, कफि, बढी नपउिने
  • रक्सी, सुर्ती तथा धुम्रपान नगर्नुनै बुद्धिमानी हुन्छ।

साताकाे चर्चित
सम्बन्धित