मन्त्री शर्मा : रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन
मन्त्री शर्मा : रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन
    • Bell Sanchar

    • १४ बैशाख २०८१, शुक्रबार

काठमाडाँै,

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज यहाँ आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्नुहँुदै उहाँले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिनुभयो ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उहाँले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिनुभयो ।

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धिहुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताउनुभयो । “डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छ”, मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्रयाउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उहाँले निजी क्षेत्रपनि उत्साहित भएर अघि आउनुपर्ने बताउनुभयो ।

“सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छ”, मन्त्री शर्माले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक समृद्धिमा योगदान दिँदै आएका निजी क्षेत्रलाई सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको विकाससँगै अनलाइन व्यापारको अभ्यास बढ्दै गएको अवस्थामा अन्तरदेशीय भुक्तानीलाई सहज बनाइनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले लगानीमैत्री वातावरण बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान आर्थिक संरचनालाई परिवर्तन गरेर उच्च आर्थिक वृद्धिको योजना ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित