सर्बिया विश्वकपमा पोर्चुगल स्तब्ध, जितसहित
सर्बिया विश्वकपमा पोर्चुगल स्तब्ध, जितसहित
    • Bell Sanchar

    • २९ कार्तिक २०७८, सोमबार

पोर्चुगल आउँदो विश्वकपमा छनौट हुनका लागि प्लेअफ खेल्नु पर्ने अवस्थामा पुगेको छ।

युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमै पोर्चुगललाई पराजित गर्दै सर्बिया आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छानिएको हो । पोर्चुगललाई २–१ पराजित गरेर सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लिएको थियो । खेलमा बराबरी मात्रै गरेको अवस्थामा पनि विश्वकमा छनौट हुने अंकगणितमा रहेको पोर्चुगलका लागि सुरुवाति अग्रता उत्साहजनक बन्यो ।

३३ औँ मिनेटमा डुसान टाडिकले सर्बियाका लागि बराबरी गोल गरे । पोर्चुगलका लागि घातक बन्यो खेलको अन्तिम मिनेट । ९० औँ मिनेटमा एलेक्सजेण्डर मित्रोभिकले गोल गर्दै सर्बियालाई जित दिलाए, विश्वकपको यात्रा तय गराए । घरेलु दर्शक तथा खेलाडी स्तब्ध हुँदा भ्रमण टोली सर्बिया र उसका समर्थकले उत्सव मनाए ।

जितसँगै समूह ए को सर्बिया ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा छनौट भएको हो । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । पोर्चुगलले अब विश्वकप छनौटका लागि आउँदो मार्चमा प्ले अफ खेल्नु पर्ने भएको छ ।

आइतबार राति भएका अरु खेलमा स्लोभाकियाले माल्टालाई ६–०, स्लोभेनियाले साइप्रसलाई २–१, जर्मनीले अर्मेनियालाई ४–१, रोमानियाले लिचेस्टाइनलाई २–०, उत्तरी मेसोडोनियाले आइसल्याण्डलाई ३–१ तथा रिपब्लिक अफ आयरल्याण्डले लग्जेम्बर्गलाई ३–० ले पराजित गर्दा ग्रिस र कोसोभोले १–१ को बराबरी खेलेका छन् ।

साताकाे चर्चित
सम्बन्धित