राष्ट्रिय वाणिज्य बैंकले चार वर्षभित्र २६ अर्ब पुँजी पुर्‍याउँदै
राष्ट्रिय वाणिज्य बैंकले चार वर्षभित्र २६ अर्ब पुँजी पुर्‍याउँदै

थप ९ अर्ब लगानी गर्ने सार्वजनिक निष्कासन नहुने, सरकारले

    • Bell Sanchar

    • १९ मंसिर २०७८, आईतवार

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आगामी चार वर्षमा २६ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ । बैंकको पुँजी बढाउने योजना भएपनि सरकारले थप लगानी गर्ने कि ३० प्रतिशत सार्वजनिक निष्कासन गरेर पुँजी थप गर्ने भन्ने दुई विषयमा छलफल भएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नेपाल सरकारको उल्लेख्य स्वामित्वमा स्थापना हुने बैंक वा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकको हकमा उक्त अनुपातको सेयर स्वामित्व हुन आवश्यक नरहेको बाफियामा उल्लेख छ ।

बाफियामा रहेको सोही व्यवस्थाको आधारमा अघिल्लो सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व सरकारमा राख्दै सरकारले बैंकका थप पुँजी लगानी गर्ने सहमति दिएपछि बैंकले पनि सोही अनुसार पुँजी वृद्धि गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षसहित चार वर्षमा २६ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजनासहित अगाडि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ बताउँछन् । जसअनुसार हाल ९ अर्ब चुक्ता पुँजी भएको बैंकमा सरकाले थप ९ अर्ब पुँजी थप गरेर १८ अर्ब पुर्‍याउने र बैंकले नाफालाई पुँजीकरण गरेर चार वर्षभित्रमा २६ अर्ब पुँजी पुर्‍याउने योजना रहेको उनले बताए ।

“सरकारले चालु आवमा ४ अर्ब पुँजी थप गर्न तयार भएको थियो । तर, गत आर्थिक वर्षमा नै सरकाले एक अर्ब रुपैयाँ बैंकमा पठाइसकेको छ, जुन साधारणसभाबाट अनुमोदन भएपछि पुँजीकरण हुन्छ । थप ३ अर्ब यो वर्ष सरकारले दिनेछ,” बैंकका सीईओ श्रेष्ठले भने, “यस्तै चार वर्ष भित्रमा सरकारले ९ अर्ब लगानी थप गर्छ भने बैंकले कमाएको नाफाबाट बोनस सेयर मार्फत २६ अर्ब पुँजी बनाउने योजना छ ।”

अघिल्लो सरकारको पालमा अगाडि बढेको योजनालाई यो सरकाले अगाडि बढाउँछ अथवा पुँजी वृद्धिका लागि प्रिमियम मूल्यमा ३० प्रतिशत सार्वजनिक निष्कानसनमा जाने योजना अगाडि सार्ने भन्ने विषयमा थप छलफल नभएको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित