पाँच वरिष्ठलाई पन्छाएर उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशक नियुक्ति
पाँच वरिष्ठलाई पन्छाएर उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशक नियुक्ति

सचिव महेश्वरप्रसाद न्यौपानेको निर्देशनमा वरिष्ठतालाई पन्छाएर ठाकुरलाई नियुक्ति दिएको एक दावेदारले आरोप लगाए। 

    • Bell Sanchar

    • ६ माघ २०७८, बिहीबार

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक नियुक्ति विवादित बनेको छ। प्राधिकरणका निमित्त महानिर्देशक बनेका प्रेमनाथ ठाकुरको कनिष्ठताको विषयलाई लिएर विवाद भएको हो।

नियम बेवास्ता गर्दै पाँच वरिष्ठलाई पाखा लगाएर ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिनु नीतिसंगत नभएको भन्दै यसमा अन्य दावेदारहरूले असन्तुष्टि जनाएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि गत पुस २५ गते प्राधिकरणका उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको छ। प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले पुस २५ गते ५८ वर्षे हदका कारण अवकाश पाएका थिए। रिक्त रहेको उक्त पदमा ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।

सचिव महेश्वरप्रसाद न्यौपानेको निर्देशनमा वरिष्ठतालाई पन्छाएर ठाकुरलाई नियुक्ति दिएको एक दावेदारले आरोप लगाए।

‘तह हेर्ने हो भने ठाकुर पनि भर्खरै १२ औं तहमा उक्लिएका हुन्। तर उनीभन्दा अगाडिकालाई पाखा लगाएर  उनलाई जिम्मेवारी दिँदा कसरी नीतिसंगत भयो?,’ एक दावेदारले सेतोपाटीसँग भने।

वरिष्ठताका हिसाबले हेर्ने हो भने ठाकुरभन्दामाथि भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल गरी पाँच जना छन्। यीमध्ये कार्यालयमा सबैभन्दा पहिला २०७७ मंसिर १७ गते तिवारी र गुरागाईं उपमहानिर्देशक पदमा नियुक्त भएका थिए।

वरिष्ठताकै आधारमा हेर्ने हो भने राजकुमार क्षेत्रीको कार्यकालपछि प्रतापबाबु तिवारी महानिर्देशकको हकदार हुने स्रोत बताउँछ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईं पनि महानिर्देशकका दावेदार हुन्।

यसअघि पनि वरिष्ठताकै आधारमा सरकारले प्राधिकरणको महानिर्देशकको जिम्मेवारी दिँदै आएको थियो। तत्कालीन महानिर्देशक राजन पोखरेलले अवकाश लिएपछि रिक्त पदमा १२ औं तहमध्येका वरिष्ठ राजकुमार क्षेत्रीलाई वरिष्ठताकै आधारमा निमित्त महानिर्देशको जिम्मा दिइएको थियो।

त्यसपछि मन्त्रालयले उनलाई महानिर्देशकका लागि सिफारिस गरेको थियो। एक मात्रै नाम सिफारिस भएकाले उनलाई नियुक्ति दिइएको थियो।

प्राधिकरणका महानिर्देशकहरूले अवकासमा जानुभन्दा पहिल्यै वरिष्ठ कर्मचारीलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर पनि जाने गरेका थिए। तर क्षेत्रीले त्यसो गरेनन्। जसले गर्दा पनि ठाकुरको नियुक्ति विवादमा तानिएको प्राधिकरण स्रोत बताउँछ।

पाँच जनाको वरिष्ठतालाई बेवास्ता गर्दै निमित्त महानिर्देशकमा ठाकुरको बढुवा गरिनु नियमविपरीत भएको स्रोतले बताएको छ। ठाकुर गत मंसिर १५ गते मात्रै उपमहानिर्देशकमा बढुवा भएका थिए।

मन्त्रालयका सचिव महेश्वर न्यौपाने भने निमित्त महानिर्देशकमा कार्यालयमा जो व्यक्ति कार्यरत छ, उसलाई नियुक्त गर्नु कुनै गलत नभएको दावी गर्छन्।

‘म यस विषयमा बोल्नै चाहँदिनँ। यो मेरो व्यक्तिगत विषय होइन। समग्र मन्त्रालयको विषय हो। मन्त्रिस्तरीय निर्णय पनि हुन सक्छ। नियुक्तिका लागि मैले सिफारिस पनि गरेको होइन,’ उनले सेतोपाटीसँग भने, ‘प्राधिकरण लामो समय रित्तै राख्नु राम्रो हो त?’

यस विषयमा आफू थप केही बोल्न नचाहेको सचिव न्यौपानेले बताए।

हुन त प्राधिकरण महानिर्देशक नियुक्त गर्ने काम प्राधिकरण सञ्चालक समितिले गर्छ। सञ्चालक समितिको अध्यक्षमा विभागीय मन्त्री रहने व्यवस्था छ। समितिको सदस्यमा पर्यटन, अर्थ मन्त्रालयका पदाधिकारी र पर्यटन, उद्योग व्यवसायमा अनुभव भएका निजी क्षेत्र वा संस्थाका एक जना प्रतिनिधि, त्यस्तै नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका दुई व्यक्ति सदस्य रहने प्रावधान छ।

महानिर्देशक समितिको सदस्य सचिव रहन्छन्। प्राधिकरणको महानिर्देशक नियुक्तिको सिफारिस भने सचिवले पनि गर्न सक्ने प्रावधान छ। तर सचिव न्यौपानेले निमित्त महानिर्देशकको सिफारिस आफूले नगरेको जिकिर गरे।

यसअघि गत कात्तिक १० गते राजकुमार क्षेत्रीलाई सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो। तर क्षेत्रीले उमेर हदका कारण गत पुस २३ गते मन्त्रालयबाट अनिवार्य अवकाशको पत्र पाएका थिए।

पत्र पाएलगत्तै क्षेत्रीले आफूले चार वर्षे कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दामाथि सर्वोच्चले उनलाई पुस मसान्तसम्म महानिर्देशक पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो।

साताकाे चर्चित
सम्बन्धित