अर्थमन्त्री परिवर्तन गर्न गठबन्धनमा कांग्रेस प्रस्ताव
अर्थमन्त्री परिवर्तन गर्न गठबन्धनमा कांग्रेस प्रस्ताव
    • Bell Sanchar

    • २९ चैत्र २०७८, मंगलवार

सत्तारुढ दलका शीर्ष नेता नेतृत्वमा रहेको गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार यो प्रस्ताव राखेका थिए ।

“अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनूस्,” कांग्रेस नेताहरुको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए ।

माओवादीका केही नेताहरु सोमबार पनि यस विषयमा आन्तरिक छलफलमा थिए ।

सोमबारको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर हटाउनुको कारणबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए ।

तर प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको हुँदा हटाउनुपर्ने प्रस्ताव ल्याएको र आफूले त्यसमा समर्थन जनाएको बताएका थिए ।

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयपछि अर्थमन्त्री शर्माको पनि राजीनामा माग गरिएको छ ।

तर माओवादी केन्द्रमा ‘सिनियर नेता’ भएको हुँदा अहिले नै हटाउँदा चुनावको मुखमा कार्यकर्तामाझ राम्रो सन्देश नजाने भएकाले चुनावसम्म पर्खिनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

आजको गठबन्धन बैठकमा पनि यस विषयमा कुराकानी हुने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित