मन्त्रालयमै पुगेर गभर्नरले भेटे अर्थमन्त्री
मन्त्रालयमै पुगेर गभर्नरले भेटे अर्थमन्त्री
    • Bell Sanchar

    • २५ जेष्ठ २०७९, बुधबार

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच दुई महिनापछि औपचारिक भेटवार्ता भएको छ ।

निलम्बन परेपछि अदालतको आदेशबाट पुनर्बहाली भएका गभर्नर अधिकारीले बुधवार मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटेका हुन् ।

गत चैत २४ गते निलम्बनअघि एउटै कार्यक्रममा सहभागी हुँदा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले असहयोग गरेको भन्दै आक्रोश पोखेका थिए ।

सोही दिन अर्थमन्त्रालयले गभर्नर अधिकारीमाथि छानबिन गर्न एक समिति गठन गरेको थियो ।

उक्त समिति गठनपछि राष्ट्र बैंक ऐनअनुसार गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

सरकारले गरेको निलम्बनको निर्णयविरुद्ध अधिकारी अदालत गए ।

सर्वोच्च अदालतले ६ वैशाखमा उनको पक्षमा अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका हुन् ।

पछिल्लो समय पानी बाराबारको स्थितिमा रहेको भनिएका अर्थमन्त्री र गभर्नरबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बुधवार भएको भेटमा राष्ट्र बैंकले तयारी गर्दै गरेको मौद्रिक नीतिका विषयमा छलफल भएको अर्थमन्त्रीका सञ्चार संयोजक अजित अधिकारीले बताए ।

बर्सेनि सरकारले वित्त नीति ल्याएपछि सो नीतिले लिएको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने गरेको छ ।

यसअघि १६ जेठमा बजेटपछिको छलफल कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकार एउटै मञ्चमा देखिएपनि औपचारिक कुराकानी भने भएको थिएन ।

बजेटले आगामी वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

सरकारले लिएको लक्ष्यअनुसार नै आर्थिक वृद्धि गर्ने र मूल्य वृद्धि नियन्त्रणमा राख्ने योजना मौद्रिक नीतिले तय गर्छ ।

साताकाे चर्चित
सम्बन्धित